भाषाका नाममा केटी ओसार्ने धन्दा

भाषाका नाममा केटी ओसार्ने धन्दा

भाषा सिकाउने भन्ने, केटी फकाउने ! केही चिनियाँ शिक्षकले अवाञ्छित गतिविधिमार्फत आफ्नै देशको बदनाम गर्न खोजेको गुनासो प्राप्त भएको छ । नेपाली महिलालाई विवाहको सपना देखाएर सीमा कटाउन तिनले नयाँ उपाय निकालेको पाइएको छ । भाषा सिकाउने भन्दै मुलुकको विकट, कम पढेलेखेको र आर्थिक अवस्था कमजोर भएकाहरूको बसोबास रहेको जिल्ला छिरेका उनीहरूले महिला ओसार्न खोजेको सुरक्षा श्रोतको दावी छ ।

स्थानीय पालिकाका जनप्रतिनिधिलाई चीन घुमाउन लगेलगत्तै उनीहरू यस्तो धन्दा चलाउन हौसिएको समेत सूचना छ । तिनै शिक्षकले लाइभमार्फत केटाहरू देखाएर विवाहको प्रस्ताव राखेको भिडियोमा देख्न सकिन्छ । कक्षा सञ्चालनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृति लिएको बताउने उनीहरूले लाइभमार्फत उचाल्ने गरेकोमा ठोस कार्वाही हुन सकेको छैन । नेपाली किशोरीलाई चिनियाँसँग विवाह गराएर पठाउने भन्दै रमाइला भिडियो देखाउनेमध्ये ‘हाइसन मिडिया’ नामक कम्पनी हो । यसअघि सो कम्पनीले आधा दर्जन बढी जिल्लामा भाषा कक्षा सञ्चालन गरेको थियो । काभ्रेपलाञ्चोकको प्रायःजसो गाउँपालिकामा भाषा सञ्चालन भइरहेको थियो । अभिभावकबाट आफ्ना छोरीहरूलाई गलत क्रियाकलापमा लगाउन खोजेको गुनासो आएपछि गाउँपालिकाले ती शिक्षकलाई हटाएको छ । हाल ती विद्यालयमा भाषा कक्षा बन्द छ । भुम्लु गाउँपालिकाको एउटा विद्यालयमा पनि यसरी नै भाषा पढाउने गरिएको थियो ।

स्कूल सकिएपछि बेलुका भाषा कक्षा सञ्चालन गर्ने गरिएकोमा शिक्षकहरूले छात्रालाई भेला गरेर वीच्याटमार्फत चिनियाँ केटाहरूसँग लाइभमा कुराकानी गराएको गुनासो आयो । जुन केटा मन पर्‍यो, त्यसैसँग विवाह गराएर पठाइदिन्छु भन्दै प्रलोभन देखाइयो । सो कुरा अभिभावकहरूले थाहा पाए । उनीहरूकै गुनासोपछि गाउँपालिकाले ती पुरुष चिनियाँ शिक्षकलाई हटाएको छ । स्रोत भन्छ, ‘काभ्रेको विभिन्न गाउँपालिकामा ल्याङ्वेज सिकाउने भनेर कक्षा सञ्चालन गरिँदै थियो । तिनीहरूले टिकटक, वीच्याटबाट लाइभ गराएर कुन केटा मन पर्छ, त्यसैसँग पठाइदिन्छु भन्दा रहेछन् । अभिभावकहरूले छोरी पढाउँदैनौं भनेर विरोध जनाएपछि उनीहरूलाई निकालियो ।’

भुम्लुका अध्यक्ष प्रेमबहादुर भुजेलले त्यस्तो कुनै घटना नभएको बताए । शिक्षक आफ्नो ६ महिने कोर्स पुरा गरेर गएको भुजेलको दावी छ । ‘त्यस्तो केही घटना भएको छैन । उनी यहाँबाट कोर्स सकाएर गएका हुन् । रिस्टेको एउटा स्कूलमा कक्षा सञ्चालन भएको थियो, अहिले त छैन’, उनले भने । भुम्लुमा नटिकेपछि ती शिक्षक बेथानचोक गाउँपालिका गए । त्यहाँ पनि त्यस्तै गुनासो आएपछि हटाउनुपरेको अध्यक्ष भगवान अधिकारीले बताए । जनआस्थासँग भने, ‘यहाँ पहिले म्या’महरूले पढाउँथे । उनीहरू फर्किएपछि भुम्लुको शिक्षक हामीकहाँ सिफ्ट भए । उनले पढाउन थालेपछि विभिन्न गुनासो आए । बुझ्दै जाँदा उनको त्यस्तै हर्कतका कारण भुम्लुबाट निकालेको थाहा पायौं । अनि हामीले पनि तुरुन्तै हटाइदियौं ।’ उनका अनुसार चिनियाँहरूले शिक्षा मन्त्रालयबाट अनुमति लिएको भनेपछि पढाउन स्वीकृति दिइएको हो । चिनियाँहरूले काभ्रेकै चौंरीदेउराली गाउँपालिकाको दुईटा विद्यालयमा कक्षा सञ्चालन गरेका थिए । एक महिना कक्षा सञ्चालन भएको अध्यक्ष रेणुका चौलागाईँले बताइन् । उनका अनुसार दुई जना शिक्षकले कक्षा लिने गरेका थिए । उनीहरूले सबै विद्यार्थीलाई दैनिक एक सय रूपैयाँ खाजा खर्च पनि दिने गरेको चौलागाईँको भनाइ छ । ‘अहिले कक्षा बन्द भइसकेको छ । हाम्रो गाउँपालिकामा दुई जना शिक्षकले कक्षा लिने गरेका थिए । एक महिना जति कक्षा लिएर गए । विद्यार्थीलाई दैनिक एक सय रूपैयाँ खाजा खर्च पनि दिन्थे’, उनले भनिन् । उता, दैलेखको नारायण नगरपालिकामा चिनियाँले कक्षा सञ्चालनका लागि सर्वेक्षण गरेका थिए । सरकारबाट प्राप्त आधिकारिक कागजात पेश गरेर मात्र कक्षा सञ्चालन गर्न दिने भनेपछि उनीहरू नफर्किएको नगरप्रमुख लोमन शर्माले बताए । उनले भने, ‘यहाँ पनि चाइनिज पढाउने भनेर आएका थिए । सर्वेक्षण गरे, नगरपालिकाले कक्षा सञ्चालन गर्ने भए, सरकारले अनुमति दिएको कागजात पेश गर्नु भनेको थियो । त्यसपछि उनीहरू आएनन् ।’ दाङमा पनि चिनियाँहरूले भाषा सिकाउने कक्षा लिएका थिए ।

जनप्रतिनिधिको घुमघाम, स्वीकृतिबारे बेवास्ता

‘हाइसन मिडिया’ ले जनप्रतिनिधिलाई चीन भ्रमणमा लगेर कक्षा सञ्चालनको अनुमति लिएको पाइएको छ । त्यसपछि जनप्रतिनिधिले सरकारले दिएको आधिकारिक कागजात नै नहेरिकन कक्षा सञ्चालन गर्न दिएका हुन् । गत वैशाखमा कक्षा सञ्चालन भएका सबै स्थानीय पालिकाका जनप्रतिनिधिलाई चीन घुमाउन लगिएको थियो । उनीहरू दुई साता घुमघाम गरेर फर्किए । राजधानी बेइजिङ, सांघाई, कुनमिङ घुमाइएको चौंरीदेउरालीकी अध्यक्ष चौंलागाइँले बताइन् । त्यहाँ आफूहरूलाई चीनको संस्कृतिबारे जानकारी गराइएको उनको भनाइ छ । कार्यक्रम सकेर जेठ २ गते फर्किएको उनले जानकारी दिइन् । ‘हाइसन मिडियाले हामीलाई लगेको हो । तीन–चार प्रान्त घुमाइएको थियो । त्यहाँको संस्कृतिबारे सिकेर फर्कियौं’, उनले भनिन् ।

बेथानचोकका अध्यक्ष अधिकारीका अनुसार शिक्षा मन्त्रालयका प्रतिनिधि पनि सँगै थिए । भन्छन्, ‘भुम्लु, चौंरीदेउराली, नारायणसँगै अन्य एकाध पालिकाका प्रतिनिधि हुनुहुन्थ्यो । शिक्षा मन्त्रालयका प्रतिनिधि पनि सँगै जानुभएको हो ।’

अनुमति दिएका छैनौँ: मन्त्रालय

शिक्षा मन्त्रालयका उपसचिव सेमन्तराज कोइरालाले चिनियाँ कक्षा सञ्चालनका लागि कुनै अनुमति नदिएको बताए । माध्यमिक शिक्षासम्मको अधिकार तलकालाई भएकाले स्थानीय तहले नै अनुमति दिएको हुनुपर्ने उनको जिकिर छ । ‘मन्त्रालयले अनुमति दिएको छैन । माध्यमिक तहसम्म कक्षा सञ्चालनलगायतको अधिकार स्थानीय तहलाई छ । स्थानीय तहले नै अनुमति दिएको होला’, उनले भने । त्यस्तै, कक्षा सञ्चालनको अनुमति दिएपछि नियमन र कारबाही पनि स्थानीय तहले नै गर्नुपर्ने उनको जिकिर छ । अगाडि थपे, ‘अहिले त स्थानीय पालिकाले नै आफ्नो कानुन बनाउँछ । नियमन र कारबाहीको अधिकार स्थानीय पालिकासँगै छ । त्यस्ता कुरा त त्यहीँका जनप्रतिनिधिलाई थाहा होला ।’

(जनआस्था साप्ताहिकको पुस १६ गते बुधबारको अंकमा प्रकाशित)   

टिप्पणीहरू