सेयर मार्केटमा पहिरो गएपछि कार्यदल गठन
गत साताको जेन–जी विध्वंशपछि हिजो पहिलोपटक भएको सेयर कारोबारमा तीनपटक नेगेटिभ सर्किट ब्रेक भएपछि सरकारले अध्ययनका लागि कार्यदल गठन गरेको छ ।
अर्थमन्त्री रामेश्वर खनालको नेतृत्वमा आज बसेको बैठकले धितोपत्र बोर्डका कायममुकायम कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
समितिमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका कार्यकारी निर्देशक निरञ्जन फुयाँल र अर्थका उपसचिव शरद निरौला रहेका छन् ।
उनीहरुलाई पुँजी बजारमा विकसित विसंगति तथा समस्याको अध्ययन गरी तत्काल आम लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत र प्रक्रियागत सुधारको लागि सुझाव र ठोस कार्यान्वयन कार्ययोजना बनाएर पाँच दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने जिम्मेवारी दिइएको छ ।
टिप्पणीहरू