१३औँ दिनको प्रसाद खानेहरू सिकिस्त बिरामी
१३औँ दिनको पुण्य तिथिमा खाना खाएका सयभन्दा बढी स्थानीय बिरामी परेका छन् । रोल्पाको रोल्पा नगरपालिका-३ चौरपानीका तिलकप्रसाद रोकाको घरमा खाना खाएका ११७ जना सिकिस्त भएका हुन् ।
हिजो तिलकका दिवंगत बुबा चित्रबहादुर १३औँ दिनको पुण्य तिथि थियो । गाउँलेहरुले त्यहाँ दाल-भात, पुरी-तरकारी र अचारलगायतका परिकार खाएका थिए ।
अचारमा विषादीयुक्त टमाटर प्रयोग गरिएका कारण फुड प्वाइजन भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी विरेन्द्र विश्वकर्माले जानकारी दिए ।
उनका अनुसार ७० जना सामान्य उपचारपछि घर फर्किएका छन् भने आठ जना अझै रेउघास्थित जिल्ला अस्पतालमा उपचाररत छन् ।
‘अरु खानेकुरामा त्यस्तो केही समस्या देखिएन, तर अचारमा विषादी औषधी प्रयोग गरिएको १७ किलो टमाटर हालिएको रहेछ’, उनले जनआस्थालाई भने, ‘अचारकै कारण फुड प्वाईजन भएछ, अहिले ८ जनाबाहेक सबै सामान्य छन् ।’
रोका परिवारले टमाटर किनेको तरकारी पसललाई स्वस्थ तरकारीमात्र बेच्न सचेत गराइएको पनि डिएसपी विश्वकर्माले जानकारी दिए ।
टिप्पणीहरू