शिविर रोक्न एमालेनिकट प्रवासी मञ्चका अध्यक्षको जोड

शिविर रोक्न एमालेनिकट प्रवासी मञ्चका अध्यक्षको जोड

नेपाली राजदूतावास,जर्मनीले पोल्याण्डमा आगामी जनवरी २ देखि राहदानी घुम्ती शिविर सञ्चालन गर्दैछ । नेपालीको अधिकतम बसोबास रहेको भ्रोस्वाव शहरमा सो शिविर हुन लागेको छ । शहरको कार्यक्षेत्र रहेको एनआरएनए क्षेत्रीय समिति, डोनोलस्कीले घुम्ती शिविरका लागि सहजीकरण र समन्वय गरेको छ । 

नेकपा एमालेको भातृ संगठन प्रवासी नेपाली मञ्च,पोल्याण्डका अध्यक्ष ईश्वर देवकोटाले आफ्नो रेष्टुरेण्टमा शिविर सञ्चालन गर्न खोज्दा ‘रेष्टुरेण्टमा शिविर राख्दा मनमुटाव हुन्छ’ भन्दै समितिले सार्वजनिक स्थानमा शिविर राख्ने निर्णय गर्यो । सोही निर्णयअनुरुप एनआरएनए पोल्याण्ड र वार्साका नेपाली वाणिज्यदूतलाई बोधार्थ दिएर दूतावासलाई पत्र पठाइयो ।

दूतावासले डिसेम्बर ३ मा सार्वजनिक सूचनामार्फत राहदानी फाराम भर्न भन्दै शिविर हुने स्थान सार्वजनिक गर्यो । त्यसपछि देवकोटा रिसाए । स्रोतका अनुसार उनले आफ्नो रेष्टुरेण्टमा शिविर सञ्चालनका लागि सक्दो प्रयास गरेका थिए । ‘उहाँले एकदमै प्रयास गर्नुभएको थियो । एनआरएनए पोल्याण्डकी अध्यक्ष रिता न्यौपानेलाई पनि पत्रमा स्थान आफ्नो रेष्टुरेण्ट लेखिदिन आग्रह गर्नुभएको थियो । तर,उहाँले मान्नुभएन’,स्रोतले भन्यो । 

दूतावासले डिसेम्बर ३ मा शिविरसम्बन्धी सूचना प्रकाशित गरेकोमा देवकोटाको दबाबकै कारण एनआरएनए पोल्याण्डको आधिकारिक फेसबुक पेजमा डिसेम्बर ८ मा मात्रै पोष्ट गरिएको थियो, त्यो पनि ठेगाना नराखिकन । पोल्याण्डमा रहेका नेपालीहरुले ठेगाना नराखेको विषयमा चर्को आपत्ति जनाएका थिए । ती कमेण्टहरु लुकाइएको छ । 

यता, देवकोटाले भने आफ्नो फेसबुकमा दूतावासमाथि गम्भीर आरोप लगाउँदै स्ट्याट्स पोष्ट गरेका छन् । उनले पहिलेको घुम्ती शिविरका कैयौं पासपोर्ट नआएकाले ढुक्क नहुन सेवाग्राहीलाई सतर्क गराएका छन् । दूतावासले आफूसँग शिविरको विषयलाई लिएर सम्पर्क पनि नगरेको उनको भनाइ छ । 

उनले लेखेका छन्,‘विगतको घुम्ती शिविरमार्फत पूर्ण रुपमा राहदानी वितरण गरिनसकेको कारणले यसपटक पनि विगतजस्तै नहोला भन्ने आधार प्रशस्त रहेकोसमेत जानकारी गराउन चाहन्छु । विगतको केही थान राहदानी वितरण नगरी नयाँ अभियानलाई कसरी विश्वास लिन सकिएला ? हामीलाई आशा अनि विश्वास छ, उक्त राहदानी वितरण गरेपछि मात्र नयाँ नविकरण अभियान शुरु गरिनेछ ।’

त्यसपछि राहदानी शिविरबारे सेवाग्राहीलाई अन्यौलता भएको हो । जसका कारण दूतावासलाई सूचना नै जारी गर्नुपर्ने बाध्यता भएको थियो । नेपाली कन्सुलर डा.बोधराज सुवेदीले तोकिएको स्थान र समयमै शिविर सञ्चालन हुने प्रष्ट पार्दा जर्मनीका लागि नेपाली कार्यवाहक राजदूत सागरप्रसाद फुँयालले अफवाह नफैलाउन आग्रह गरेका थिए । दूतावासकै सूचनालाई आधार मानेर सेवा लिन उनले सेवाग्राहीलाई सूचित गराएका छन् ।

शिविरमा लाखौंको आम्दानी हुने भएकाले देवकोटाले अनेकौं फण्डा गरिरहेको स्रोत बताउँछ । ‘करिब पाँच सयले सेवा लिँदा उनलाई लाखौंको फाइदा हुन्छ । त्यसैले उनले बल लगाएका हुन्’,विरोधी खेमाले भन्यो ।

सामान्यत नेपाली कन्सुलरहरुले दूतावासमार्फत मात्र परराष्ट्र मन्त्रालयलाई पत्रचार तथा सिफारिस गर्ने गर्छन् ।तर तिनै देवकोटाले वारसाका नेपाली कन्सुलर डा• सुवेदीलाई दबाब दिएर एक पर्वतारोही पोलिस नागरिकलाई करछुटका लागि दूतावासलाई बाइपास गरेर सिधै परराष्ट्र मन्त्रालयमा सिफारिस लेखाएको घटना पनि अहिले सार्वजनिक भएको छ। यस विषयलाई लिएर कन्सुलर सुवेदी माथि आवश्यक छानबिन भइरहेको विश्वस्त स्रोत बताउँछ। 'पोल्याण्डमा मेनपावर एजेन्सी सञ्चालन गर्ने एक युक्रेनी नागरिकलाई नेपालको कन्सुलर बनाइदिने भन्दै हजारौं युरोको डिलसमेत देवकोटाले गरेको', त्यही स्रोत भन्छ।

यसै सन्दर्भमा अध्यक्ष देवकोटालाई कारबाहीको माग गर्दै नेपाल सरकारका सरोकारवाला निकायहरुमार्फत जर्मनीको नेपाली राजदूतावास र उनको माउ पार्टी नेकपा (एमाले) लाई छिट्टै निवेदन दिने तयारी रहेको बुझिएको छ।

टिप्पणीहरू