सुशासनको सरकार हुँदामा पनि जताततै अपराध

सुशासनको सरकार हुँदामा पनि जताततै अपराध

गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि मुलुकमा अराजकता मौलाउँदै गएको छ ।  सामाजिक सञ्जालमा जथाभावी लेख्ने,धम्क्याउने,कानुन नटेर्नेलगायतका गतिविधिले प्रश्रय पाएको छ । यस्ता गतिविधिले आम नागरिकसँगै न्यायमूर्ति, संवैधानिक पदाधिकारी,निजामती कर्मचारी,व्यापारीहरु डराउन थालेका छन् । 

समाजको वातावरण भयभित बन्दै गएको छ । केही समयअघि ईमेलमार्फत अख्तियार प्रमुख आयुक्त प्रेम राईसहित १० जना भिआईपीलाई ज्यान मार्ने धम्की आएको थियो । राजीनामा नदिएमा ज्यान मार्ने भनेर धम्काएपछि भिआईपीहरुको सुरक्षा बढाइयो । जिल्ला प्रहरी परिसर,काठमाडौंको टोलीले भिआईपीलाई धम्क्याएको आरोपमा तीन जनालाई नियन्त्रणमा लियो । 

उनीहरु छुटिसकेका छन् । परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार उनीहरुलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले धरौटीमा रिहा गरेको हो । जनआस्थासँग उनले भने,‘उनीहरुलाई छोडेको लामै समय भइसकेको छ । हामीले म्याद थप गरेर अनुसन्धान गर्यौं । जिल्ला प्रशासन कार्यालयले धरौटीमा छाडिदियो ।’

जनआस्थासँग उनले भने,‘उनीहरुलाई छोडेको लामै समय भइसकेको छ । हामीले म्याद थप गरेर अनुसन्धान गर्यौं । जिल्ला प्रशासन कार्यालयले धरौटीमा छाडिदियो ।’

ईमेल पठाउने मुख्य योजनाकार भने अहिलेसम्म पनि समातिएका छैनन् । भिआइपीहरुलाई धम्क्याउने व्यक्ति ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल (ईजिएन)’ नामक उग्रवादी समूहका नाइके प्रकाश पाठक हुन् । उनी हाल फिलिपिन्समा छन् । गत पुस ६ गते उनले पुनः भिआईपीहरुलाई धम्की दिएका थिए ।

सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले राईलाई गोली ठोक्ने प्रहरीलाई दुई करोड रुपैयाँ पुरस्कार दिने घोषणा गरेका थिए । विदेशमा बसेर संवैधानिक निकायका पदाधिकारीलाई धम्क्याउनेलाई पक्राउ गर्न सरकार असफल भएको छ । यता,सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दामा गितेन्द्रबाबु उर्फ जिबी राई फरार छन् । नेपालबाट भागेर मलेसिया पुगेका उनी दुबईमा रहेको बुझिएको छ । 

सुशासनका लागि बनेको सुशीला कार्की नेतृत्वको सरकारले सहकारी पीडितको समस्यामा गम्भीर भएको दाबी गरेतापनि जिबीलगायतलाई अझै पक्रिन सकेको छैन । भदौ २४ गतेको घटनामा भद्र कारागारबाट भागेका राजकुमार तिमल्सिना बाहिरै छन् । उनले बाहिर बसेर न्यायाधीशलाई धम्क्याउने कार्य गरिरहेका छन् । तीन महिना जेल भुक्तान गर्न बाँकी छँदै बाहिर निस्किएका उनी अब पक्राउ परेमा साढे चार महिना जेल बस्नुपर्नेछ । 

यता, जेनजी प्रदर्शनमा कारागारबाट भागेका साढे चार हजार कैदीबन्दी फर्किएका छैनन् । कारागार व्यवस्थापन विभागले ती कैदीबन्दीको पासपोर्ट रोक्का गरेको छ । सुरक्षाकर्मीका लुटिएका हतियारहरु अझै गायब छन् । सुशासनको सरकार हुँदा पनि बिचौलियाहरुको बिगबिगी छ । मुलुकमा बेतिथि र अपराध बढ्दै गएको छ । तर, वर्तमान सरकार आँखामा पट्टी बाँधेर बसेको जनगुनासो छ ।

टिप्पणीहरू