प्रतिनिधिसभा पुनर्स्थापना काँग्रेसको प्राथमिकता नभएको देउवाको प्रस्टोक्ति

प्रतिनिधिसभा पुनर्स्थापना काँग्रेसको प्राथमिकता नभएको देउवाको प्रस्टोक्ति

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीको प्राथमिकता संसद पुनर्स्थापना नभई निर्वाचन नै भएको स्पष्ट पारेका छन् ।

सरकारको प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग आज भएको भेटमा उनले चुनावको विकल्प नभएको बताएका हुन् । खरेलका अनुसार सभापति देउवाले प्रतिनिधिसभा पुनर्स्थापना कांग्रेसको प्राथमिकता नभएको प्रष्ट पारेका थिए । 

एमालेसँग मिलेर प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएका देउवाले निर्वाचनको वातावरण बनाउन सरकारलाई आग्रहसमेत गरेका थिए । तोकिएको मितिमा चुनाव सम्पन्न गर्नका लागि आफ्नो पार्टीको तर्फबाट गर्नुपर्ने सहयोगका लागि तयार रहेको प्रतिवद्धतासमेत उनीबाट व्यक्त भएको खरेलले जानकारी दिए ।

‘नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसको प्राथमिकता निर्वाचन नै हो, संसद पुनर्स्थापना होइन भनेर प्रष्टसँग बताउनुभएको छ', मन्त्री खरेलले भने, 'र, निर्वाचनको वातावरण बनाउनका लागि उहाँले सरकारसँग आग्रह गर्नुभएको छ । सुरक्षाको वातावरण बनाउनुपर्यो भन्ने उहाँको चासो छ । काँग्रेसको तर्फबाट निर्वाचन समयमा सम्पन्न गर्नका लागि गर्नुपर्ने सहयोग हुन्छ भन्ने उहाँको कुरा रहेको छ ।’

सरकारले पुराना पार्टीहरूलाई बेवास्ता गरेकै कारण निर्वाचनको वातावरण बन्न नसकेको चिन्ता भैरहेका बेला खरेलले आज प्रमुख तीन दलका शीर्ष नेतासँग पालैपालो भेटवार्ता गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीको सन्देश लिएर बिहान देउवासँग भेट गरेका उनले त्यसलगत्तै एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए । 

शनिवार प्रधानमन्त्री कार्कीले पनि देउवा,ओली र प्रचण्डसँग छलफल गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । त्यसको निम्तो दिनसमेत सञ्चारमन्त्री खरेलले शीर्ष नेतालाई भेटेका हुन् ।

टिप्पणीहरू