अन्यत्र निर्वाचन, गोकुलगंगामा शोक
वडाध्यक्षको निधनपछि रामेछापको गोकुलगंगा गाउँपालिकामा आज शोक बिदा दिइएको छ । गाउँपालिकाले पालिकाभरका सबै कार्यालयमा आकस्मिक सेवा बाहेक बिदा दिएको छ ।
काठमाडौंबाट गोकुलगंगा गाउँपालिका–४ बेतालीतर्फ जाँदै गरेको त्रिवेणी यातायातको ना.१ज ७१२३ नम्बरको जीप स्थानीय सिमलडाँडा भीरमा दुर्घटनाग्रस्त हुँदा गोकुलगंगा गाउँपालिका–४ बेतालीका वडाध्यक्ष रामचन्द्र बस्नेतसहित पाँच जनाको ज्यान गएको थियो । वडाध्यक्ष बस्नेतको निधनमा आज शोक बिदा दिइएको हो ।
दुर्घटनामा ३० वर्षीया कविता कार्की (खड्का), कविताकी छोरी ७ वर्षीया स्वस्तिका, साविना विक र हिराबहादुर कार्कीको ज्यान गएको थियो । दुर्घटनामा नाबालकसहित तीन जना घाइते भएका छन् ।
आजै ३२ जिल्लाका विभिन्न स्थानीय तहका ४१ पदमा उपनिर्वाचन भइरहेको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन गरिएको हो । गोकुलगंगा गाउँपालिका–४ बेतालीका वडाध्यक्ष रामचन्द्रको उपनिर्वाचनभन्दा दुई दिन अगाडि निधन भएको छ ।
टिप्पणीहरू