हामीले भन्न सक्ने कुरा त यति मात्रै हो कमरेड !
नेपाली कम्युनिष्ट आन्दोलन एक ठूलो धाराको प्रतिनिधित्व गर्ने नेपाल कम्युनिष्ट पार्टी (एमाले) आज एक विरोधाभाषी स्थितिमा पुगेको छ किनभने अध्यक्ष केपी शर्मा ओलीले ‘पार्टीभित्रका विरोधी बढार्ने’ रणनीतिअन्तर्गत जसरी महाधिवेशनमार्फत सोत्तर पार्न सफल भए, त्यसले उनी के चाहन्छन् भन्ने विषय छर्लङ्ग पार्छ । ओलीले फेरि पुरानै ठाउँमा पुर्याइएको विधानअन्तर्गत कूल उन्नाइसजना पदाधिकारीमध्ये सत्र जनालाई जित दिलाएका छन् । जम्मा दुई जना आलोचकले मात्रै जित्न हासिल गर्न सके । ओलीको विरोधी सफाया रणनीति सफल भएको छ । अहिले धेरैले के भनिरहेका छन् भने यो जितले पार्टी सत्ताका विपक्षीलाई कमजोर बनाउने कुरा मात्रै गरेको छैन कि सिङ्गो कम्युनिष्ट पार्टीको संगठनात्मक सिद्धान्तलाई विसर्जन र देशमा एउटा अवसरवादी राजनीतिलाई जन्म दिन सक्ने अनुकूल परिस्थिति निर्माण गरिरहेको छ ।
केही समय पहिले एमाले र माओवादी केन्द्रको बीचमा एकीकरण भएर एउटा भीमकाय नेकपा निर्माण भएको थियो । यो एकीकरण नेपाली कम्युनिष्ट आन्दोलनको विकास र विस्तारको दीर्घकालीन सपना बनेर आएको थियो । यसले देशमा स्थायी राजनीतिक स्थिरता र समृद्धि ल्याउने आशा जगाएको थियो । सर्वहारा श्रमजीवी वर्गमा आशा र उत्साह जगाउने काम गरेको थियो । तर, ओलीकै व्यक्तिगत महत्वाकांक्षा, गैरसैद्धान्तिक किचलो र अनावश्यक नेतृत्वको संघर्षले गर्दा त्यो एकीकरण तासको महल ढलेजस्तै ढलेर क्षतविक्षत नै भयो । यसका सूत्रधारहरू ओली र प्रचण्डद्वय क्रमश अहिले ‘एमाले’ र ‘नेकपा’ को नेतामा झरेका छन् । एमालेको निशानमा ओलीको व्यक्तिगत छाप ‘बा’को छाप लागेको छ र यो, एकदमै असहिष्णु, विचार त्यागेको, र एउटा अवसरवादी चरित्र बोकेको पार्टीको रूपमा मौलाउँदै गइरहेको छ ।
ओलीको नेतृत्व शैलीमा आक्रामक अहंकार, प्रतिक्रियावादी निर्णयशैली, र भयङ्कर जिद्दीपना देखिन्छ । उनको भाषा प्रायः आरोप–प्रत्यारोप र व्यक्तिगत आक्रमणले भरिपूर्ण र अरुलाई होच्याउने प्रवृत्तिका छन् । जनताको पीडा, राष्ट्रिय चुनौती, वा वैकल्पिक नीति प्रस्तुत गर्ने भाषण गरेको अहिलेसम्म सुनिएको छैन । उनको रणनीति कसै गरिकन पनि सत्ता प्राप्त गर्ने रहेको र त्यसका लागि कुनै पनि हदमा जान तयार देखिन्छन्– दुई दुई पटकको संसद विघटन यसैको उदाहरण हो ।
एमालेले आफूलाई जनताको बहुदलीय जनवादको सिद्धान्त मान्ने समाजवादी पार्टी भनेर परिभाषित गर्छ तर व्यवहारमा समाजवाद, वर्ग संघर्ष, जनताको सशक्तिकरण जस्ता कुनै मूल सिद्धान्त देखिँदैनन् । यो पार्टी ‘बा’ वादी बनेको छ । अब यसको उद्धेश्य व्यक्तिगत, दलगत, वा तात्कालिक राजनीतिक फाइदा लिने रहेको देखिन्छ । अध्यक्षमा विजयी भएपश्चात् कार्यकर्ताहरूलाई गरेको संबोधनलाई धेरैले उनको अराजक मनोभावको प्रकटीकरण भनेका छन् । उनको उक्त संबोधनले पार्टीको विचारधारात्मक दिवालियापनलाई राम्रोसँग उजागर गरेको छ । जनताको समस्या (महँगी, बेरोजगारी, भ्रष्टाचार) सँग कुनै सरोकार छैन, केवल सत्ताको निम्ति धाकधम्कीको भाषा बोल्ने, समीकरण बदल्न दाउपेच लगाउने, सत्ता र सुविधा हात पार्न जेसुकै बोल्ने र गर्न तयार हुने प्रवृत्ति देखिन्छ ।
आफ्नै सबोर्डिनेट्ससितको सम्बन्धसमेत लेनदेनमा आधारित बनिसकेको छ, ‘एक हात से देना, एक हात से लेना’ । पद पाउन लोयल्टी सरेण्डर गर्नुपर्ने अवस्था बनेको छ, योग्यताको कुनै अर्थ छैन, योगदानको कुनै कदर छैन । कम्युनिष्ट पार्टीले मान्दै आइरहेको जनवादी केन्द्रीयताको सिद्धान्त पूर्ण रूपमा ध्वस्त भएको छ । पार्टी निर्णय प्रक्रियामा एकाधिकार कायम छ । विचार, विमर्श, बहस, र सामुहिक निर्णयको परम्परा लोप भएको अवस्था छ । यसले पार्टीभित्रका असल र सिद्धान्तवादी कार्यकर्ताहरूमा निराशा र हताशालाई जन्म दिएको छ । कतिपय नेताले ओलीको यस्तो हेपाहा र मिचाहा ब्यवहारको कारण पार्टी राजनीतिबाट अलग हुने घोषणा गरेका छन् भने कतिपय पराजित नेताले कुनै पनि कमिटीमा आफूहरूलाई मनोनीत नगर्न अनुरोध गरिरहेका छन् । एमाले अहिले ओलीको नेतृत्वमा व्यक्ति–केन्द्रित दल बन्दै गएको छ, जो यसको दीर्घकालीन अस्तित्वका लागि खतरा सावित हुनसक्छ ।
ओलीको यो हिटलरी रणनीतिले राष्ट्रिय राजनीतिमा गतिरोध र अस्थिरता उत्पन्न हुनसक्ने जोखिमलाई ह्वात्तै बढाउनेछ । देश चुनावमा होइन कि मुठभेडतर्फ सोझिने हो कि भन्ने डर पैदा भएको छ । जेन जीहरूको आन्दोलनबाट शिक्षा लिएर देशलाई मेलमिलाप र शान्तिको बाटोमा लैजान पहलकदमी लिनुपर्ने ठाउँमा ओलीले आफ्नो निजी तुष्टिकरणको निम्ति मुठभेडको राजनीति अघि सारेका छन् । हाम्रोजस्तो गरिब देशले कुनै पनि प्रकारको मुठभेड थेग्न सक्दैन । देशले सामना गरिरहेको आर्थिक संकट, रोजगारी, र भ्रष्टाचारजस्ता ज्वलन्त मुद्दाहरूलाई संबोधन गर्ने राजनीति आजको आवश्यकता हो भन्ने कुरालाई ओलीले पुरै नजरअन्दाज गरिरहेका छन् ।
अन्तिम हरफ– केपी ओलीमा पार्टीभित्रका आलोचक÷विपक्षीलाई बढार्ने जुन तुच्छ चाहना पलाएको छ, त्यसले कालान्तरमा एमालेलाई नै कमजोर तुल्याउने कुरामा दुईमत छैन । यसको अलावा राष्ट्रिय राजनीतिको लागि पनि त्यो चाहना हानिकारक साबित हुनेछ । एमालेको आन्तरिक जीवन, पार्टीको ऐतिहासिक विरासत, सिद्धान्त र जनआधारलाई गम्भीर क्षति पुर्याउने छ । ओलीले आफ्नो सोच र भूमिकालाई पुनर्परिभाषित गर्नु जरुरी छ । दलभित्रका सहयोद्धा विपक्षी भनेको पनि एमालेकै सदस्यहरू हुन् र एमालेकै शक्ति हो । उनीहरूलाई साथमा लिएर अघि बढ्न सक्दा मात्रै एमाले ठूलो शक्ति बनिरहन सक्नेछ । जनताले एमालेबाट वैकल्पिक नीति, रचनात्मक कार्य र सुशासनको अपेक्षा गर्छन्, एमाले बिग्रयोस्, एमालेको पतन होस् भन्ने चाहना जनताको पटक्कै रहेको छैन र अहिले सफाया गरिएका कामरेडहरूको त झन् रत्तिभर पनि रहेको छैन । बरु ओली उदार हुनसक्दा इतर वामपन्थीहरू समेत एमालेमा समाहित हुन आउन सक्ने संभावनालाई फराकिलो बनाउनेछ, उनीहरूको निम्ति ढोका खुला हुन जान्छ ।
मूलतः ओली र एमालेको नयाँ नेतृत्वले यो यथार्थलाई गम्भीरतापूर्वक बुझ्नु आवश्यक छ कि सत्ताको लागि राजनीति गर्ने हो भने त्यो स्थायी हुँदैन । विचारधारा, सिद्धान्त र जनताप्रति इमानदार नहुने राजनीतिको भविष्य राम्रो हुँदैन । एमालेलाई प्रगतिशील शक्तिको चालकका रूपमा स्थापित गराउने हो भने, ओलीले आफूभित्र रहेको अहं र अवसरवादी चरित्रलाई नामेट पार्नुपर्छ । शान्तिपूर्ण, समन्वयकारी र जनताको आकांक्षा र राष्ट्रिय हितलाई प्रवद्र्धन गर्ने राजनीति अँगाल्नु पर्छ । यदि यस्तो गर्नबाट ओली र एमाले चुके भने एमाले राष्ट्रिय राजनीतिमा लिलिपुट भएर रहन अभिषप्त हुनेछ र त्यतिबेला पछुतो मान्नु वा पश्चातापमा जल्नुबाहेक अर्को विकल्प रहने छैन । किनभने एमालेले वा ओलीले त्याग्दै गरेको लोकतान्त्रिक स्पेसमा अर्को कुनै शक्ति आएर बस्ने छ, जुन एकदमै प्राकृतिक कुरा हो । सुध्रिएर आफ्नो विरासतलाई जोगाउने कि दम्भको आगोमा खरानी भएर अस्तित्व समाप्त पार्ने दुईटै कुरा ओली कमरेड र नयाँ चुनिएको टिमको हातमा छ । हामीले त सामुन्नेमा रहेको भीर देखाइदिने हो, कोही लड्छ भने गर्नसक्ने वा भन्नसक्ने केही हुँदैन र जिम्मेवारी पनि हुनेछैन । आगे ‘बा’ कै मर्जी ।
टिप्पणीहरू