चिहानको नलीखुट्टा झिकेर र्‍याइँ र्‍याइँ बाजा ?

चिहानको नलीखुट्टा झिकेर  र्‍याइँ र्‍याइँ बाजा ?
सुन्नुहोस्

– प्रेमराज सिलवाल

बैँक र बजारबाट अरबौैँ लिएर तिर्ने बेलामा चाहिँ सत्ता, शासक र नेतालाई तथानाम भन्ने मनोवृत्तिका मान्छे पनि देखियो । नेपालको राजनीतिक इतिहासमा यस्ता ऋणीका अराजकता कहिल्यै देखिएको थिएन । जे बोले पनि कारबाही नहुने कस्तो लोकतन्त्रमा हामी अघि बढ्दैछौँ ? नेता, शासक र प्रणालीलाई तथानाम भने पनि ऋण तिर्नबाट छुट ! व्यक्तिगत गालीमा उत्रेर ‘माधव नेपालको मुखै गन्हाउने’ सम्म भन्न भ्याएका छन् । यसैलाई राजावादीहरू राजा ल्याउने सूत्र ठान्दैछन् ।

लोकतान्त्रिक गणतन्त्रको विकल्प अझ समृद्ध र सुधारिएको र नागरिक अपनत्व बढी भएको लोकतन्त्र हो । खाएको तिर्न पर्ने बेला राजाको नलिखुट्टो चिहानबाट झिकेर बजाउँदैमा छुट पाइन्छ ? राजनीतिक स्वतन्त्रता, नागरिक अधिकार, स्वाधीनता, विधिको शासन, संविधानवाद, र मानव अधिकार बहालीको लागि नेपालको इतिहासमा लामो राजनीतिक, सामाजिक र साँस्कृतिक संघर्ष भयो ।

कतिपयलाई २०६२÷०६३ मा सडक आन्दोलन भयो, जुलुस लाग्यो, विरोध भयो त्यसैले मात्र राजा फालियो भन्ने लाग्न सक्दछ । त्यो सतही र साँघुरो बुझाइ मात्र हो । नेपालको इतिहासदेखि (मूलतः राणा शासन विरोधी संघर्ष भएदेखि) भएका राजनीतिक, सामाजिक र साँस्कृतिक आन्दोलन, संघर्ष तथा दश वर्षे सशस्त्र युद्ध, विश्वपरिस्थिति, मानवमा आएको चेतना, प्रजातान्त्रिकरणको लहर, व्यक्तिवाद, स्वतन्त्रता, सूचना र प्रविधिमा आएको परिवर्तन र सारमा नेपाल र नेपालीको चाहना तथा राजनीतिक, सामाजिक र साँस्कृतिक आवश्यकताले नेपालबाट राजतन्त्रको अन्त्य भएको हो । तसर्थ जुलुसको विरुद्ध फेरि अर्काे जुलुस अनि राजा आउने तरिकाको सोच केटाकेटी सोच मात्र हो । संवैधानिक, राजनीतिक, सामाजिक, वैचारिक कुनै पनि मूल्यमा राजा आउने होइन ।विश्वमा दार्शनिकहरूले राजनीतिक स्वतन्त्रता, लोकतन्त्र र विधिको शासनबाट मात्र मुलुक र समाज समृद्ध बन्ने प्रष्ट गर्दै आएका छन् ।

निरंकुश शासक, राजा र अनिर्वाचित शक्तिको शासनले समाजमा रहेको बहुविचार, दृष्टिकोण, व्यक्तिगत स्वतन्त्रता, नागरिक अधिकारमाथि अंकुश लगाएकोले नै विश्वमा प्रजातन्त्र र लोकतन्त्रकोे लहर चल्यो । दलीय विचार र संगठनको आवश्यक प¥यो ।

लोकतन्त्रमा राजनीतिक दल प्रणालीका खम्बा हुन् । यद्यपि, नेपालका कतिपय राजनीतिक दल आयोगमा दर्ता गर्ने कार्यलाई नै ठूलो ठान्छन् । यसैले ‘नयाँ’ भनिएका राजनीतिक दल लोकतान्त्रिक, वैचारिक र सामाजिक मूल्यको निर्माणमा पूर्णतः अनभिज्ञ छन् । पुरानाले गरेनन् भन्नेदेखि बाहेक नयाँ दलसँग राजनीतिक, विचारधारात्मक र लोकतान्त्रिक दृष्टिकोण छैन । कार्यव्रmम र नीति केही छैन । संस्कार र संस्कृतिको निर्माणमा उनीहरूको चासो देखिन्न । यही कारण राजनीतिक दल सबै एकै हुन् भन्ने संकीर्ण भाष्य बजारमा बिक्री गरिँदैछ । 

राजनीतिक संस्कार, संस्कृति र प्रणाली बसाल्न नसकिएकाले अराजक, उत्ताउला र असभ्य भाषाचाहिँ बढी बिक्दैछन् । यो भन्दा लाजमर्दाे के हुन्छ ? प्रजातन्त्र र परिवर्तनमा सिन्को नभाँचेका शक्ति र दलचाहिँ प्रजातन्त्रको ठूला कुरा गर्दैछन् । अपराधी र पूर्वराजाका जुठोपुरो खाएर हुर्केका स्यालहरू मुलुकमा अराजकता, हिँसा र भद्रगोल मच्चियोस् भन्दै अराजक अभिव्यक्ति दिँदैछन् ।

लोकतान्त्रिक गणतान्त्रिक प्रणालीका लागि यस्ता अराजकता नियन्त्रण गर्नुपर्ने अवस्था देखिएको छ । चिहानमा गाडिएका पूर्वराजाका नलिखुट्टा झिकेर केको बाजा बनाउन खोजेको हो ? लोकतन्त्रमा आफ्ना आवाज बुलन्द गर्न पाइन्छ तर अर्काेलाई डिस्टर्ब गर्ने गरी चिच्याउन पाइन्न । आफ्ना दृष्टिकोणअनुसार राजनीतिक दल खोल्न र संविधान, कानुनअनुसार दल सञ्चालन गर्न पाइन्छ । बोल्न पाइन्छ भन्नुको अर्थ जेसुकै गैरकानुनी र अराजक अभिव्यक्ति दिन पाइन्छ भन्ने हुँदैन ।

अराजकताले कसैको हित गर्दैन । कसैलाई लाग्दैमा अब राजा आउने वा अनिर्वाचित शासन र व्यवस्था आउने होइन । पहिले मच्चिएका कमल थापा अहिले राजाको नाराले थच्चिएका छन् । फेरि उनी नबज्ने नलिखुट्टो बजाउन खोज्दै छन् । नेपालमा २००७ सालमा राणा शासन गयो । राणाका घरमा काम गर्ने केही दर्जन नोकरले ती राणाजीहरूलाई अहिले पनि राजा र रानी नै भनेर संबोधन गर्दछन् । त्यो तिनको आफ्नो कुरा र आदत हो । त्यसले केही फरक पर्ने होइन । के तिनले संबोधन गर्दैमा राणा शासन फर्कन्छ ? अराजक ढंंगले पेश भएकालाई राजाको नाममा छुट दिन सकिन्न । कानुनअनुसार आवश्यक नियन्त्रण अनिवार्य भएको छ ।

टिप्पणीहरू