पूर्वमा बिएस्सी नर्सिङ्गकाे तयारी
कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयले धनकुटा अस्पताल हस्तान्तरण भएसँगै मेडिकलतर्फको बिएस्सी नर्सिङ्ग कक्षा सञ्चालन गर्ने भएको छ । नियमनकारी निकाय चिकित्सा शिक्षा आयोगको निर्देशनअनुसार बिएस्सी नर्सिङ्ग विषयको पाठयक्रम तयार गरिसकिएको छ ।
प्रदेश सरकारले अस्पताल हस्तान्तरण गरेसँगै नर्सिङ्गको अध्यापन गराउने विश्वविद्यालयको तयारी छ । विश्वविद्यालयका उपकुलपति डा.सुवासश्री पोखरेलका अनुसार प्रदेश सरकारले गत जेठमै अस्पताल उपलब्ध गराउने निर्णय गरिसकेको छ । हाल अस्पताल हस्तान्तरण गर्ने प्रक्रियामा रहेको उनले जानकारी दिए ।
भने,‘सायद माघभित्रमा अस्पताल प्राप्त गरिसक्छौं । वैशाखदेखि कक्षा शुरु हुन्छ ।’ प्रदेश सरकारले २०७६ सालमा मुलुककै पहिलो प्राविधिक विश्वविद्यालयको स्थापना गरेको हो । तर, शिक्षण अस्पताल प्राप्त गर्न नसकेकाले मेडिकलतर्फको कार्यक्रमहरु सञ्चालन हुन सकेको छैन । स्वास्थ्य प्राविधिक कार्यक्रमहरुका लागि पाठ्यक्रम निर्माण भइसकेको भएतापनि विश्वविद्यालय सरकारको अन्तिम निर्णय पर्खेर बसेको छ ।
विश्वविद्यालयले सम्झौता पत्रको खाका सरकारलाई बुझाइसकेको छ । तर, प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले उक्त फाइल अगाडि बढाएको छैन । मनमोहन प्राविधिक विश्वविद्यालयले स्कुल अफ मेडिकल एण्ड हेल्थ साइन्सबाट चार वर्षे बिएस्सी नर्सिङ्ग कार्यक्रमका लागि तयार पारेको पाठ्यक्रम चिकित्सा शिक्षा आयोगका निर्देशक प्रा.डा. सुजबाबु मरहठाले आफैं उपस्थित भएर निरीक्षण गरेका छन् ।
हाल मनमोहनका आंगिक क्याम्पसहरुमा सिभिल, ईलेक्ट्रिक र ईलेक्ट्रोनिक्स इञ्जिनियरिङतर्फ स्नातक, फार्मेसी, पाँच वर्षे बिएएलएलबी, स्नातकोत्तरतर्फ एलएलएम अनि हस्पिटल म्यानेजमेण्ट विषयमा अध्यापन हुँदै आएको छ ।
टिप्पणीहरू