बालकोटको नयाँ गीत

बालकोटको नयाँ गीत

एलिना चौहानको ‘धोकेबाज’ वाला गीत फेरि पपुलर हुने भएछ । किनभने यो गीतलाई अब एमालेले देशभरि लानेवाला छ । कस्तो एमालेलाई ठ्याक्क मिल्ने गरी बनाएको गीत रहेछ । अस्तिसम्म एलिना चौहानले मात्रै गाउने यो गीत अब केपी ओलीले पनि गाउने भएछ । ओलीले गाएपछि एमालेका सबै कार्यकर्ताले गाउनेछ ।

एमालेका सबै कार्यकर्ताले गाएपछि यो देशकै राष्ट्रिय गान बन्न पनि बेर छैन । कार्टुनमा, लेख रचनामा ओलीले यही गीत गाइरहेको त आइसकेको छ । अब सायद बालकोटमा हरेक दिन बिहान–बिहान यही गीत गाइने होला । अरूतिर नभए पनि बालकोटको राष्ट्रिय गान त अब पक्कै यही हुन्छ होला ।

त्यसो त यसका गीतकार अरू नै हुनुहुन्छ । तर लाग्छ, यो एमालेका महासचिव शंकर पोखरेलले लेख्नुभएको गीत हो । संगीतकार पनि अर्कै हुनुहुन्छ । तैपनि, यस्तो लाग्छ यो एमाले उपाध्यक्ष विष्णु पौडेलले संगीत भर्नुभएको गीत हो । मुख्य गायक त अध्यक्ष ओली आफैँ भइहाल्नुभयो । 

तसर्थ भन्न के सकिन्छ भने अब गायिका चौहान जहाँ–जहाँ यो गीत गाउन जानुहुन्छ त्यहाँ एमाले कार्यकर्ताको पनि भीड लाग्ने निश्चित छ । अलि होशियारचाहिँ हुनुहोला । 
 

टिप्पणीहरू