बैंकिङ कसुरका दोषी रोटरीका गभर्नर !

बैंकिङ कसुरका दोषी रोटरीका गभर्नर !

बुटवल फाइनान्स काण्डमा जेल परेका बुटवलका विवादित व्यापारी राजेन्द्र प्रसाद ध्वँजु अन्तर्राष्ट्रिय सामाजिक संस्था रोटरी क्लबको नेपाल प्रमुख (गभर्नर) भएका छन् । बुटवल फाइनान्सको ३० करोड बढी रकम हिनामिना गरेपछि उनलाई नेपाल राष्ट्र बैंकको निरीक्षण तथा सुपरीवेक्षण टोलीले दोषी ठहर गरेको थियो । त्यसपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीको अनुसन्धानमा पनि उनी दोषी देखिएका हुन् । 

ध्वँजुविरुद्ध पुनरावेदन अदालत पाटनमा बैकिंग कसुरमा मुद्दा दायर गरिएको थियो । पुनरावेदन अदालत पाटनबाट उनलाई कसुरदार ठहराउँदै २०७५ फागुन ५ गते जेल सजायको आदेश भएको हो । अदालतको फैसलापछि उनी जेल चलान भएका थिए ।

बैकिङ कसुर जस्तो जघन्य अपराधमा जेल परेका ध्वँजु अहिले अन्तर्राष्ट्रिय सामाजिक संस्थाको नेतृत्वमा पुगेका छन् । मुद्दा अझै विचाराधीन रहेका उनी रोटरीको नेपाल प्रमुख बनेपछि संस्थाको औचित्यमाथि नै प्रश्न उठाइएको छ ।

रोटरीको नियम अनुसार वर्तमान गभर्नरको कार्यकाल कायम रहेको समयमा थप दुई कार्यकालको निम्ति गर्भनर चयन गरिने प्रचलन छ । त्यही प्रचलन अनुसार उनको कार्यकाल आगामी जुलाई १ देखि २०२४ को जुन अन्तिमसम्म कायम रहने छ । त्यसपछि उक्त जिम्मेवारी राजेन्द्र शेरचनलाई बुझाउनुपर्ने हुन्छ ।

’बैंकिङ कसुर जस्तो जघन्य अपराधमा दोषी सावित भएका ध्वजुलाई अभिभावक मान्नु पर्ने भयो,’ नाम उल्लेख नगर्ने सर्तमा क्लबका एक जना पदाधिकारीले भने, ‘रोटरी नेपालमा एउटा गिरोह छ, त्यो गिरोहले जे गरे पनि हुन्छ । सोझाको जमाना रहेन ।’

रोटरी स्रोतका अनुसार कसुरदार ध्वजुलाई गभर्नर बनाउने अभियानमा डिस्ट्रिक भित्र एक गिरोह लागिपरेको हो । त्यही गिरोहले अनेक उपाय लगाउँदै गभर्नर बनाएको ती पदाधिकारी बताउँछन् । गिरोहले रोटरीलाई प्राईभेट कम्पनी जस्तै सञ्चालन गरेपछि रोटरीभित्र विवाद उत्पन्न भएको हो ।
 
‘हामीले केही बोल्यौं भने, हामीलाई एक्लाइन्छ,’ अर्को एउटा क्लबका अध्यक्षले भने, ‘हामीले बोल्न पाउने अवस्था छैन । केही बिमती जनाएमा क्लबलाई कारबाही गर्ने धम्की आउँछ । समाजसेवा गर्ने थलोलाई राजनीति गर्ने थलो बनाइएको छ । यस्तै अवस्था हो भने रोटरीमा जस्ता पनि मान्छे आउने देखियो ।

आफ्नालाई च्याप्ने र मन नपरेकालाई फाल्ने गरिएको आरोप रोटरीमा व्याप्त भएको छ । यो आवाज पछिल्लो समयमा रोटरी क्लबभित्रै उठ्न थालेको हो । गभर्नरको निर्वाचनमा सहभागी कसैले पनि प्रचारप्रसार गर्न नपाउने, कसैले कसैलाई धम्काउन नहुने तथा गलत आचरण भएकालाई स्थान नदिने भन्ने रोटरीको सर्वमान्य नियम छ । तर ती सबै नियमलाई रोटरीको नेतृत्वले धोती लगाइदिएपछि संस्था एकपछि अर्को विवादमा तानिएको हो ।

टिप्पणीहरू