३ दिनमा ३ वटा बैंकको अस्तित्व मेटिने

३ दिनमा ३ वटा बैंकको अस्तित्व मेटिने

आगामी साता नेपाली बैंकिङ क्षेत्रबाट तीन वटा बैंकको उपस्थिति हराउने भएको छ । हाल सञ्चालनमा रहेका बैंक अफ काठमाडौं,सेञ्चुरी कमर्सियल बैंक र मेगा बैंक लिमिटेडको अस्तित्व अर्कै बैंकमा विलय हुनेछ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको संख्या घटाउने नीति लिएबमोजिम ती बैंकहरु अन्य ठूला बैंकमा गाभिन लागेका हुन् । तुलनात्मक रुपमा चर्को प्रतिस्पर्धामा खरो उत्रिन नसक्ने भएपछि मेगा, सेञ्चुरी र बिओकेले अन्य बैंकसँग मर्जर (गाभिने) निर्णय गरेका छन् ।

बैंक अफ काठमाडौं (बिओके) ग्लोबल आइएमइ बैंकसँग मर्जर भएको छ । आगामी सोमबारदेखि बिओकेको सम्पूर्ण कारोबार ग्लोबल आइएमइको नामबाट हुने तय भएको छ । उनीहरुले पुस २५ गतेदेखि एकीकृत वित्तीय कारोबार गर्न आवश्यक तयारी पूरा गरेका छन् ।

त्यस्तै पुस २६ गतेदेखि सेञ्चुरी बैंकको अस्तित्व प्रभु बैंकमा मिल्नेछ । सोही दिनदेखि सेञ्चुरी बैंकको सम्पूर्ण वित्तीय कारोबार प्रभु बैंकको नामबाट हुने भएको छ । प्रभुले सेञ्चुरीलाई प्राप्ती अर्थात् एक्विजिसन गरेर गाभेको हो । 

यता,नेपाल इन्भेष्टमेण्ट बैंकमा मेगा बैंक मर्ज भएको छ । ती बैंकले पनि आगामी बुधवारदेखि एकीकृत कारोबार सञ्चालन गर्ने तयारी पूरा गरेका छन् । मेगा बैंक र इन्भेष्टमेण्ट बैंकको सम्पूर्ण एकीकृत कारोबार पुस २७ गतेदेखि नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको नाममा हुनेछ । त्यसपछि पनि बैंकको अध्यक्षमा पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे नै कायम रहने छन् ।

टिप्पणीहरू