महिला कर्मचारीमात्रै राखेर महाराजगञ्जमा एनसेल सेन्टर सञ्चालन

महिला कर्मचारीमात्रै राखेर महाराजगञ्जमा एनसेल सेन्टर सञ्चालन

एनसेल आजियाटाले काठमाडौंको महाराजगञ्जमा महिला कर्मचारीद्वारा सञ्चालित एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ ।

महिला कर्मचारीले मात्र व्यवस्थापन तथा सञ्चालन गरेको एनसेल सेन्टरको शुरुवातले समानताको हिसाबले समाजमा महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने एनसेले जनाएको छ ।

महाराजगञ्जमा पूर्णरुपमा महिला कर्मचारीद्वारा व्यवस्थापन गरिएको एनसेल सेन्टर सञ्चालनमा ल्याउन पाउँदा हर्षित भएको एनसेलका मानव संसोधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तवले बताए ।

‘यो कदमले एनसेलको डीइआई अर्थात विविधता, समानता र समावेशितालाई बढावा दिने नीतिमा ठूलो महत्व राख्दछ, कार्यस्थलमा विविधताको समर्थन जस्ता रणनीति र अभ्यासहरुले कम्पनीलाई प्रतिस्पर्धात्मक लाभ हासिल गर्नमा सहयोग पुर्याउने उनको भनाइ छ ।

एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरु समेत लिन सक्नेछन् ।

ग्राहकले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड, सिम तथा मोबाइल नम्बर परिवर्तन, सीयुजी नम्बरहरुको आवश्यक फेरबदल, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका अन्य ग्राहक सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

यो एनसेल सेन्टर सञ्चालनमा ल्याइएको अवसरमा यस सेन्टरमा आउने ग्राहकका लागि एक हप्ताको विषेश अफर पनि रहेको कम्पनीले जानकारी दिएको छ । यस अफर अन्तर्गत यस सेन्टरबाट आफ्नो ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले बोनस प्राप्त गर्नेछन् ।

ग्राहकले प्रत्येक ५० रुपैयाँको रिचार्ज बराबर २० को रिचार्ज कार्ड बोनस स्वरुप प्राप्त गर्ने एनसेलले जानकारी दिएको छ । यसको अर्थ १०० रिचार्ज गर्ने ग्राहकले २० को दुई वटा रिचार्ज कार्ड बोनस स्वरुप प्राप्त गर्नेछन् भने पाँच सय रिचार्ज गर्ने ग्राहकले २० को १० वटा रिचार्ज कार्ड बोनस स्वरुप प्राप्त गर्नेछन्

यस सेन्टरले हप्ताको सातै दिन बिहान ९ः३० बजे देखि साँझ ६ बजे सम्म ग्राहकलाई सेवा प्रदान गर्ने जनाएको छ । एनसेलले देशभरी ३१ एनसेल सेन्टरबाट ग्राहक सेवा प्रदान गर्दै आएको छ ।

टिप्पणीहरू