खानेपानीका लागि जापानबाट दुई अर्ब

खानेपानीका लागि जापानबाट दुई अर्ब

जापान सरकारले विराटनगरको खानेपानी सुधारका लागि दुई अर्ब बढी सहयोग गर्ने भएको छ । खानेपानी सुधार आयोजना कार्यान्वयनका लागि दुई अर्ब सात करोड रकमको अनुदान सहयोगसम्बन्धी द्विपक्षीय सम्झौतापत्रमा आज हस्ताक्षर भएको हो ।

अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा नेपालका लागि जापानका राजदूत किकुता युताका र अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले आज हस्ताक्षर गरेका हुन् ।

आयोजना कार्यान्वयनका लागि अर्को अनुदान सम्झौतामा जापानको अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका नेपालका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सु र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग तथा समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्यालले हस्ताक्षर गरेका छन् ।

उक्त आयोजनाले विराटनगर शहरको खानेपानी क्षेत्रलाई फराकिलो बनाउँदै खानेपानी सुविधाको पुनःनिर्माण र विस्तार गरी विराटनगर शहरका जनताको जीवनस्तर उकास्ने लक्ष्य लिएको छ ।

हाल विराटनगरका बासिन्दा दैनिक घरायसी उपयोगका लागि पानी लिन इनारमा भर पर्नुपरेको छ भने खानेपानी अभावका कारण सर्वसाधारण प्रभावित भएका छन् ।

टिप्पणीहरू