नेपाली उत्पादन निर्यातमा लुट, कृष्णनगरलाई किन छुट ?
व्यवसायीको हितका लागि भन्दै स्थापना गरिएका संघ–संस्थाबाटै अवैध असुलीको धन्दा चल्दा व्यवसायी मर्कामा परेका छन् । नेपालमा उत्पादित मालवस्तु निर्यात प्रमाणित गर्ने अधिकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यापारी संघ–संस्थालाई सुम्पेको मात्र छैन, कमिसन उठाउन हाकाहाकी स्वीकृति दिएकोजस्तो अवस्था देखिएको छ।
मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले (टिइपीसी) नेपाली उत्पादित वस्तु विदेश पठाउँदा आवश्यक हुने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन) जारी गर्दा मालवस्तुको मूल्यको ०.१२ प्रतिशत लिन पाउने प्रावधान छ। तर संघ–संस्थाहरूले भने उत्पत्तिको प्रमाणपत्र जारी गर्दा तोकिएकोभन्दा दोब्बर रकम उठाउँदै आएका छन्। कपिलवस्तुको कृष्णनगर भन्सार हुँदै भारत निर्यात हुने अधिकांश मालवस्तुमा सर्टिफिकेट अफ ओरिजिन जारी गर्दा दोब्बर रकम असुल गरिएको पाइएको छ।
कृष्णनगर नाकामा सर्टिफिकेट अफ ओरिजिन जारी गर्ने अधिकार पाएको कृष्णनगर उद्योग वाणिज्य संघले व्यापारीलाई धम्क्याएरै अतिरिक्त असुली गर्दै आएको पीडित निर्यातकर्ता व्यवसायीहरूको आरोप छ।

मंसिर १० गते भारत निर्यात भएको गणपति भेनियर दाङको १३ लाख ९० हजार रुपैयाँ मूल्यांकन भएको प्लाइउडको प्रमाणपत्र जारी गर्दा संघले ३ हजार १५ रुपैयाँ असुल गरेको छ। रिफरेन्स नम्बर ए २५२२७६५९ को उक्त प्रमाणपत्रमा राज्यले तोकेको ०.१२ प्रतिशत अनुसार १ हजार ६६८ रुपैयाँ मात्र लिनुपर्ने हो तर संघले दोब्बर बढी रकम उठाएको रसिदमै प्रस्ट देखिन्छ।
‘भनेजति रकम नदिए प्रमाणपत्र दिँदैनन्, भन्सारमा जाँचपास नै रोकिन्छ,’ भेनियर निर्यातकर्ता व्यावसायीले बताए। संघका अध्यक्ष रितेश शर्माको निर्देशनमा तोकिएकोभन्दा बढी रकम लिन बाध्य गरिएको कर्मचारीहरू पनि बताउँछन्। तर संघका अन्य पदाधिकारी र सदस्यहरू भने यसको विरोधमा उत्रिएका छन्। ‘व्यापारी संघ भएर व्यापारीकै शोषण हुनु गलत हो,’ उनीहरूको भनाइ छ।

त्यति मात्र होइन, कृष्णनगर उद्योग वाणिज्य संघले सर्टिफिकेट अफ ओरिजिन जारी गरेपछि अनिवार्य काट्नुपर्ने रसिदसमेत नकटाइने व्यवसायीहरूको आरोप छ। २०८२ साउनयता प्लाइउड, सिमेन्ट, भेनियर, क्लिंकरलगायत ८ प्रकारका मालवस्तुको १ हजार २४८ ट्रक भारत निर्यात हुँदा ५ सयभन्दा बढी सर्टिफिकेट अफ ओरिजिन जारी गरिएको छ। तर संघले साउनयता २६० वटा मात्र रसिद काटेको छ।
संघकै पदाधिकारी स्रोतका अनुसार अध्यक्ष शर्माले नक्कली रसिद प्रयोग गर्ने र असुलिएको रकम दुरुपयोग गर्ने गरेका छन्। यसबारे अध्यक्ष शर्मा भने आफू काठमाडौंमा रहेको र फर्किएपछि मात्र जानकारी लिएर प्रतिक्रिया दिने बताए ।
कृष्णनगर उद्योग वाणिज्य संघले २ वर्षयता उत्पत्तिको प्रमाणपत्र जारी गरेर ६१ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सर्टिफिकेट अफ ओरिजिन जारी गर्न चेम्बर अफ कमर्स, उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघलाई अधिकार दिएको छ। तर उनीहरूले यसबापत उठाएको करोडौँ रकम कहाँ कस्तो उपयोगमा खर्च हुन्छ भन्नेमा भने सरकारले चासो नदेखाएको पीडित व्यवसायीहरूको भनाइ छ।
टिप्पणीहरू