आधा वर्षमा मोबाइल सेटमा मात्रै साढे २८ अर्ब खर्च

आधा वर्षमा मोबाइल सेटमा मात्रै साढे २८ अर्ब खर्च

चालु आर्थिक वर्षको पहिलो सात महिनामा विदेशबाट ४० लाखभन्दा बढी मोबाइल सेट भित्रिएको छ ।

भन्सार विभागले आज सार्वजनिक गरेको विवरणअनुसार २०७८ साउनदेखि माघ मसान्तसम्म नेपालमा ४० लाख ५ हजार ८ सय ४ थान मोबाइल सेट भित्रिएको हो । ती मोबाइल सेट खरिद गर्न नेपालबाट २८ अर्ब ३८ करोड ५६ लाख २७ हजार रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको छ ।

यस्तै मोबाइल सेटको आयातबाट नेपाल सरकारले ४ अर्ब ४९ करोड ११ लाख ९४ हजार रुपैयाँ राजश्व उठाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालले विभिन्न देशबाट २४ अर्ब ६ करोड ८१ लाख ७० हजार रुपैयाँको ४३ लाख ६८ हजार ८ सय ७२ थान मोबाइल सेट खरिद गरेको थियो ।

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालले मोबाइल सेट आयातमा ४ अर्ब ३१ करोड ७४ लाख ५७ हजार रुपैयाँ बढी खर्च गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा नेपालले ३६ अर्ब ९० करोड ४५ लाख ८४ हजार रुपैयाँको मोबाइल सेट खरिद गरेको थियो । त्यो वर्ष नेपालमा ७० लाख ३० हजार ३ सय ६६ थान मोबाइल सेट भित्रिएको भन्सार विभागले जनाएको छ ।

टिप्पणीहरू