क्रिप्टोकरेन्सी कारोबारीहरुको सूचना खोज्दै सिआईबी

क्रिप्टोकरेन्सी कारोबारीहरुको सूचना खोज्दै सिआईबी

नेपाल प्रहरीले क्रिप्टोकरेन्सी, हाइपरफन्ड तथा डिजिटल नेटवर्किङ कारोबारमा संलग्नहरुको खोजि गर्न थालेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले त्यस्ता कारोबारमा संलग्न नहुन र भएकाहरूबारे सूचना उपलब्ध गराउन अनुरोध गरेको हो ।

नेपालमा यस्तो कारोबार अवैधानिक रहेको र यसबारे नेपाल राष्ट्र बैंकले पटक–पटक सचेत गराएको स्मरण गराउँदै सिआईबीले यस्तो गैरकानुनी काममा संलग्न भए कडा कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

‘हाइपरफन्ड, डिजिटल नेटवर्किङ, भर्चुअल र क्रिप्टो करेन्सी कारोबार संलग्न नहुन आग्रह गर्छौं, गैरकानुनी क्रियाकलापमा संलग्न भए गरेको पाइए कडाइका साथ कानुनी प्रक्रिया अघि बढाइने छ,’ सिआईबीले भनेको छ ।

साथै, यस्तो कार्यमा संलग्न भएको पाइएमा कसूरको बिगो जफत गरी तीन गुणासम्म जरिबाना वा तीन वर्षसम्मको कैद सजाय हुनेबारे उसले सुसुचित गराएको छ । पछिल्लो समय नेपालमा गैरकानुनी रुपमा डिजिटल कारोबार गर्नेको संख्या बढेपछि प्रहरीले निगरानी बढाएको हो ।

टिप्पणीहरू