​फेरि त्यागकै कुरा ?

त्यागको मामिलामा डा. बाबुराम भट्टराईलाई कसैले सक्दैन । उहाँ वास्तवमा नेपालकै सर्वाधिक त्यागी नेता हुनुहुन्छ । अरु जस्तो लोभलालच उहाँमा छैन । कुनै पनि कुरामा अलिकति मात्रै अप्ठेरो परे पनि खुरुक्क त्यागिदिनुहुन्छ । झगडा गर्नुहुन्न । 

प्रचण्डसँग नसकेपछि माओवादी पार्टी त्याग्नुभएको त सबैलाई थाहा छँदैछ । पार्टी त्यागेर नयाँ पार्टी बनाउनुभयो । माओवाद त्याग्नुभयो । भर्खर नयाँ बनाएको नयाँ पार्टी पनि त्याग्नुभयो । समाजवादी पार्टी बनाउनुभयो । अब यो समाजवादी पार्टीमा पनि उहाँको त्यागको छाँया परिरहेको  

छ । भर्खरै मात्र समाजवादी पार्टीले सरकार त्याग्ने कुरा ल्याएको छ । समाजवादीले सरकार त्याग्छु भन्नु नै डा. बाबुरामको छाँया पर्नु हो । किनभने डा. बाबुराम भट्टराईको आदर्श भनेकै त्याग्ने हो । अतः समाजवादी पार्टी पनि सरकार त्याग्ने मुडमा उत्रेको छ । 

अब यो सरकार जो छ, त्यो डा. बाबुराम भट्टराईको लागि कुनै कामको छैन । किनभने यो सरकारमा उहाँ मन्त्री बस्न मिलेन । उपप्रधानमन्त्री बस्न पनि मिलेन । बस्ने त प्रधानमन्त्रीमै हो । तर प्रधानमन्त्री त ज्यान जाला आउनेवाला छैन । अब यस्तो प्रधानमन्त्री बन्ने सम्भावनै नभएको सरकारमा के बस्नु ? बरु त्यागै गरे बेस । हैन र ? 

टिप्पणीहरू