काँग्रेसमा कोही ‘बा’ नभएको सुनेपछि बबाल

काँग्रेसमा कोही ‘बा’ नभएको सुनेपछि बबाल

नेपाली कांंग्रेसका महामन्त्री गगन थापाको विशेष महाधिवेशन उद्घाटन समारोहमा सार्वजनिक भएको एउटा अभिव्यक्तिलाई लिएर नेकपा (एमाले)का केही नेताहरुले प्रतिक्रिया जनाएका छन् । थापाले हिजो भृकुटीमण्डपमा सम्बोधन गर्ने क्रममा ‘कांग्रेसमा कोही बा छैन’ भनेका थिए ।

‘कांग्रेस दास र लासहरुको पार्टी होइन, कांग्रेसमा प्रश्न मरेको छैन’, थापाले अगाडि भने ‘यहाँ कोही बा’हरु छैनन्, जसले नबोल् भन्दै गर्दा बोल्न छाडोस्, र थियो भने पनि आजबाट भत्कियो ।’

थापाको उक्त धारणापछि एमाले महासचिव शंकर पोखरेलले दास हुनुको अर्थ र औचित्यलाई आफ्नै ढंगले व्याख्या गरेका छन् । ‘यसरी पनि सोच्न सकिन्छ, भूराजनीतिक स्वार्थका सामु लम्सार पर्नु दासता हो, त्यसका विरुद्ध आवाज उठाउनु स्वाभिमान हो’, उनले भनेका छन्, ‘विध्वंश, अराजकता र आतंकका सामु झुक्नु कायरता हो, त्यसका विरुद्ध उभिएर जनताको मनोबल उठाउनु साहस हो।’

पोखरेलले एमालेलाई ‘स्पार्टाकस’को संज्ञा दिएका छन् । ‘देश जलिरहेका बेला उत्सव मनाउन नसक्नेहरू कसैका लागि ‘दास’ जस्ता लाग्न सक्छन्, तर ती तथाकथित दासहरू नै आजको समयका स्पार्टाकस पनि हुन सक्छन्’, उनले थपेका छन् । 

सचिव महेश बस्नेतले पार्टी र नेतृत्वको खोइरो खनेर शत्रुको चाहना पूरा गर्नु वीरता हो ? हो भनेर नेता थापालाई प्रश्न गरेका छन् । ‘भाद्र २३ र २४ गतेपछि गुलाम बनेर मानवीयतासमेत भुलेका एउटा लाश, जसलाई हामीले आश र शास भरिदिएपछि आज केही मास जम्मा गरेर भन्न थालेछन्’, उनले भनेका छन्, ‘हामी लाश र दास होइनौँ, इतिहासले अवश्य सोध्नेछ, आश र शास कसले भर्दियो ?’

नेता सूर्य थापाले समेत बा’लाई वृद्धाश्रम धपाउने छोरो अपसंस्कारी हुने भन्दै कटाक्ष गरेका छन् । उनी लेख्छन्, ‘एमाले, वृद्ध बालाई अपमानपूर्वक वृद्धाश्रम धपाएर घर सम्पत्ति कब्जा गरी ढलिमली गर्न चाहने अपसंस्कारी जिउँदो छोरोको पार्टी किमार्थ होइन, चेतना भया ।’

अन्य केही नेताले पनि गगनलाई कटाक्ष गर्दै काँग्रेस सभापति शेरबहादुर देउवाको बचाउ गरेका छन् ।

टिप्पणीहरू