गगनकाे प्रस्तावपछि शीर्ष नेताहरु डराएको चर्चा
नेपाली कांग्रेसका नेता गगन थापाले आगामी प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेद्वार छनोट गर्न ‘प्राइमरी इलेक्शन’ (प्रारम्भिक निर्वाचन)को प्रस्ताव गरेका छन् । भृकुटीमण्डपमा जारी बन्दसत्रमा उनले ‘प्राइमरी इलेक्शन’को अवधारणा प्रस्तुत गरेका हुन् ।
‘पार्टीभित्र सम्बन्धित तहका सदस्यबाट आन्तरिक प्रतिष्पर्धा (प्राइमरी निर्वाचन) को व्यवस्था गरी सबैभन्दा बढी मत ल्याउने महिलासहित तीनजना व्यक्तिमध्येबाट सम्बन्धित तहमा उम्मेदवार बनाउने प्रणाली लागू गरिने छ,’ थापाको प्रस्तावमा उल्लेख छ, ‘यसका लागि डिजिटल उम्मेदवार मूल्यांकन तथा सिफारिस प्रणालीले सबै इच्छुकलाई समान अवसर दिँदै योग्यता, क्षमता, इमानदारी र संगठनगत योगदानका आधारमा उम्मेदवार छनोट गर्ने सुनिश्चित गर्दछ ।’
त्यस्तै नेता थापाले अझै समय बाँकी रहेको भन्दै संस्थापन पक्षका नेताहरुलाई बन्दसत्र हलमा आउन पनि अपील गरेका छन् । हिजो उद्घाटन समारोहमार्फत् बन्दसत्रमा आइदिन आग्रह गरेका उनले आज फेरि भने, ‘हामी बन्दसत्रबाट पनि पार्टीका सभापतिजीलाई, पार्टीका कार्यवाहक सभापतिजीलाई आग्रह गर्न चाहन्छौ, यो कुनै अर्को पार्टीको कार्यक्रम होइन, कांग्रेसकै कार्यक्रम हो, ्विधानसम्मत ढंगले भएको यो कार्यक्रममा तपाईंहरूको सहभागीता लागि अहिले पनि अनुरोध गरिरहेका छौँ, आउनुस् यो हलमा ।’
संस्थापन पक्षका कतिपय नेताहरु बन्दसत्रमा आउन चाहे पनि नेतृत्वको डरले नआएको थापाको दावी छ । उनले अघि भने, ‘धेरै साथीहरुले मलाई सम्पर्क गरिराख्नुभएको छ, उहाँहरु आउन चाहनुभएको छ, तर डराइरहनुभएको छ ।’
टिप्पणीहरू