किशोरी छात्रा विद्यालयबाटै बेपत्ता
-धनराज साउद,अछाम
अछामकी किशोरी अपहरणमा परेकी छन् । बान्नीगढी जयगढ गाउँपालिकाको जयगढस्थित सरस्वती माद्यामिक बिद्यालय परिसरबाटै उनी अपहरणमा परेकी हुन् ।
कक्षा ७ मा अध्ययनरत १३ बर्षिया ती किशोरी गएको बिहिवार (पौष १७ गते) अपहरणमा परेको बताईएको छ । रामारोशन गाउँपालिका वडा नम्बर ७ का ३५ बर्षीय सन्तोष अएडीले मोटरसाइकलमा घर पुर्याइदिन्छु भन्दै लगेका हुन् ।
प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलमा चढाउने क्रममा समेत ती किशोरीले रोईकराई गरेकी थिइन् । घटनाबारे जानकारी पाएलगत्तै जयगढ प्रहरी चौकीलाई खवर गर्दा समेत गैरजिम्मेवारपूर्वक जवाफ फर्काईएको पीडित परिवारले बताएका छन् ।
बिहिवार साँझ नै प्रहरीलाई खबर गरेको भए पनि हाल सम्मअवस्था अज्ञात छ ।अपहरणमा संलग्न रहेको आरोपमा सन्तोषकी पत्नी झरना साउदलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी ओमप्रकाश खनालले अपहरणकारीको पहिचान भइसकेकाले खोजी तीव्र पारिएको बताए । सुदूरपश्चिम प्रदेशका सम्पूर्ण प्रहरी युनिटलगायत सम्वन्धित अधिकारीहरु यस घटनाबारे सुक्ष्म अनुसन्धान गरिरहेको बताईएको छ ।
विद्यालय जाने उमेरकी किशोरी विद्यालयकै परिसरबाट अपहरणमा परेपछि स्थानीयवासी त्रसित बनेका छन् । प्रहरीको प्रारम्भिक प्रतिक्रियामाथि गम्भीर प्रश्न उठ्नुका साथै यस घटनाले राज्यको सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ ।
टिप्पणीहरू