राप्रपाकाे चहलपहलमा रेखाकाे खाेजी
प्रतिनिधि सभाको निर्वाचन नजिकिदै जाँदा नेताहरुको भेटघाट र सक्रियता बढेको छ । विभिन्न राजनीतिक दलका नेताहरु शीर्ष नेतालाई रिझाएर टिकट हात पार्ने वा आफू अनुकलका नेतालाई उम्मेद्वार बनाउने रणनीतिमा देखिन्छन्, यसलाई स्वभाविक नै मान्न सकिन्छ ।
तर यतिबेला राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा अभिनेत्री रेखा थापा भने पार्टीमा निस्क्रिय बनेको चर्चा सुरु भएको छ । नेताहरु राजनीतिक भेटघाटमा केन्द्रीत हुँदा उनी भने अलग्गै चलचित्रको काममा व्यस्त देखिएपछि पार्टी छाडेकोसम्म चर्चा मनोरञ्जन वृत्तमा व्यापक छ ।
०७९ को निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ बाट चुनाव लडेकी तर नेपाली कांग्रेसका सुनिल शर्मासँग पराजित भएकी रेखा र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनबीच पछिल्लो समय राम्रो सम्बन्ध नभएको जानकार स्रोत बताउँछ । ०८० माघमा रेखा अमेरिका जाँदा अध्यक्ष लिङ्देनले ‘बच्चा जन्माउन गएको’ भनेर टिप्पणी गरेपछि दुई जनाबीच सामाजिक सञ्जालमै आरोपप्रत्यारोप चलेको थियो । त्यसयता रेखा अमेरिकाबाट फर्केर आए पनि पार्टीका बैठकमा कमै देखिने गरेको र अध्यक्ष लिङ्देनले पनि सम्बन्ध सुधार्ने प्रयास नगरेको स्रोतले बतायो । ‘अहिले रेखा दिदि एउटा चलचित्रको प्राजेक्टमा व्यस्त हुनुहुन्छ’, स्रोतले भन्यो, ‘उहाँले चाहेको भए यो प्रोजेक्ट फागुनपछि पनि गर्न मिल्थ्यो, तर पार्टीमा नलाग्ने भएर नै होला, चुनावको मुखमै सुरु गर्नुभएको छ ।’
पार्टीले समानुपातिक बन्दसूची तयार पार्दा पनि रेखासँग एक पटकसमेत सम्पर्क नगरेको बताइएको छ । ‘भोलिका दिनमा नयाँ केही विकास भइहाल्यो भने अर्कै कुरा, नत्र अहिलेकै अवस्थामा उहाँ पार्टीमा सक्रिय बन्ने मूडमा देखिनुहुन्न’, स्रोतले थप्यो ।
उता पार्टीले खुश्बु ओली, प्रेक्षा मल्ल, स्वाती थापा, दिपा श्रेष्ठ, नारायणी राईसहितका महिला युवाहरुलाई समानुपातिक बन्दसूचीमा राखेको छ ।
टिप्पणीहरू