छानबिन आयोगका सदस्य पहिलेदेखि ओली विरोधी ?
एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार दिउँसो प्रधानमन्त्री सुशीला कार्कीको सरकारी निवास बालुवाटारमा भएको संयुक्त छलफलमा छेडेको एउटा प्रसंग एकाएक भाइरल बन्यो । काँग्रेस सभापति शेरबहादुर देउवा,नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डसहितको भेटघाटमा ओलीले बोलेको एउटा विषय बाहिर आउँदा अनर्थ प्रचार गरिएको बालुवाटार स्रोतले स्वीकारेको छ ।
स्रोत भन्छ, ‘उहाँले बोलेको कुरो बाहिर आउँदा अनर्थ भएको छ । किन त्यसो गरियो थाहा छैन । तर भेटमा देउवाले सेना लगाएर भए पनि फागुन २१ मै निर्वाचन गर्नुपर्छ भनेपछि उठेको विषयलाई गोलमटोल गरेर बाहिर प्रचार गरिएको छ । वास्तविकता त्यस्तो होइन ।’
बालुवाटार बैठकमा सहभागी एक जनाले उक्त क्षणबारे भने, ‘सेना लगाएर भए पनि निर्वाचन गर्नुपर्छ भन्ने देउवाको कुरा सुनेपछि ओली जंगिएका हुन् ।’ ओलीले ‘कसरी सेना लगाउने ?’ भन्दै धारणा राखे, ‘सेनाको टोली निर्वाचन सुरक्षामा १०० मीटर पछाडि बस्ने हो । उसले पुलिसलाई आड दिने हो । प्रमुख सुरक्षा पुलिसको भएकाले उसलाई पुलिसजस्तो बनाउनुपर्यो । प्रहरीको मनस्थितिलाई दह्रो बनाउनुपर्यो । अहिलेको अवस्थामा पुलिसले गर्न सक्छ त त्यो काम ?’
ओलीको उक्त धारणापछि प्रधानमन्त्री कार्कीको जवाफ थियो, ‘मैले पनि त्यही भन्या त हो नि !’ त्यसपछि प्रधानमन्त्रीबाट चिया कफी कस्तो खाने भनेर सोधनी भयो ।देउवाले आफू तत्काल बाहिर जानुपर्ने भएकाले छोटकरीमा भनाइ राख्छु भन्दै बोल्न थाले । उनको भनाइ थियो, ‘समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने म्याद पाँच दिनका लागि थप्न पर्यो । मेरो पार्टीमा अलि समस्या छ ।’
देउवाको कुरा सुनेपछि प्रचण्डले पनि पाँच दिन थप्न समस्या नहुने आशयका साथ भने, ‘सरकारले भन्दा आयोगले मान्छ होला । हुन तः मेरो पार्टीमा तोकिएको समयमा उम्मेदवारको सूची बुझाउन कुनै समस्या छैन । अरुलाई पनि सहज हुन्छ भने पाँच दिन किन नथप्ने ?’
देउवाको भनाइ थियो, ‘शीतल निवासमै उठाएको विषय फेरि किन यहाँ दोहोर्याएको भन्या !’
त्यसपछि ओलीले भनेका थिए, ‘मेरो पार्टीमा त झन् कुनै समस्या नै छैन । कसैसँग छलफल गर्नै पर्दैन । त्यसैले तुरुन्तै दिन सकिन्छ ।’ ओलीले त्यसो भनिरहँदा नजिकै रहेकाहरुको बुझाइ थियो, ‘मानौं सूची उनले कोटको खल्तीमा बोकेर हिँडेका छन् ।’ उनीहरुको कुरो सुनेपछि प्रधानमन्त्री र बालुवाटारको टोलीले ‘ठूला दलका नेताहरु चुनावमा जाने मुडमा रहेको’ अर्थ लगाउन भ्याइहाल्यो ।
सबैले चिया कफी पिउन थालेलगत्तै ओलीले ‘सम्माननीय प्रधानमन्त्रीको कुरो सुनौं’ भनेपछि वातावरण औपचारिकतातर्फ गएको थियो । प्रधानमन्त्रीले सफलतापूर्वक निर्वाचन सम्पन्न गर्ने,राजनीतिक दलका नेताहरुलाई नै बालुवाटार र सिंहदरबार छाड्ने कुरो गरेर आफना भनाइ सकाउनुभएको थियो ।
लगत्तै ओलीले जेन जीसँग गत मंसिरमा भएको सम्झौतामा आपत्ति जनाइहाले । ‘तीन महिनापछि आएर सम्झौता गर्नुभयो । न त्यसमा कुनै राजनीतिक भाषा छ न संवैधानिक । पूरै राजनीतिक दल र दलीय व्यवस्थाको विरुद्धमा गएर सम्झौता गरिएको छ,’ ओलीको भनाइ थियो । उनले एकातिर चुनाव गराउँछु भन्ने, अर्कोतिर संविधान संशोधनको कुरा गर्ने चुनाव गराउने म्याण्डेट पाएको सरकारले संविधान संशोधनको अधिकार कहाँबाट पायो ? भनेर सोधे ।
सोही क्रममा गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको विषय कोट्याएका ओलीले प्रधानमन्त्रीतिर फर्केर भने, ‘मुलुकको प्रधानमन्त्रीले पुलिसलाई गोली हान भनेर आदेश दिन्छ ? त्यस्तै गोली हान्न आदेश दिने काम प्रधानमन्त्रीको हो ? जबर्जस्ती तानेर हुन्छ आयोगले ?’
आयोग सदस्य तथा पूर्व एआईजी विज्ञानराज शर्मा पनि पहिलेदेखि आफ्नो विरुद्धमा बोल्दै हिँडेको मान्छे भएको ओलीले बालुवाटारको भेटमा बताए । ‘गोली र सुरक्षाको कुरो सम्बन्धित मन्त्री र सम्बन्धित निकायका प्रमुुखहरुको भएको’ उल्लेख गरेका ओलीले गौरीबहादुर कार्कीबारे आयोग गठनलगत्तै चर्को विरोध जनाइसकेका थिए ।
शनिबार ओलीले उठाएका कतिपय विषयबारे बीच बीचमा देउवा र प्रचण्डले जवाफ दिन भ्याए । आयोगको प्रसङ्ग उठेपछि देउवाको भनाइ थियो, ‘शीतल निवासमै उठाएको विषय फेरि किन यहाँ दोहोर्याएको भन्या !’
टिप्पणीहरू