सुशीला कार्कीको नाकैमुन्तिर विनोद चौधरीलाई हाइसन्चो

सुशीला कार्कीको नाकैमुन्तिर विनोद चौधरीलाई हाइसन्चो

नेपाल राष्ट्र बैंकले विदेशी लगानी भित्र्याउन गरेको भनिएको विनियमावली संशोधनको अन्तर्य निकै पर रहेको बुझिएको छ । कालोसूचीमा परेका कम्पनीले पनि विदेशी लगानी भित्र्याउन पाउने उद्देश्यसहित संशोधन भएको दावी गरिएको छ । त्यस्ता विदेशी लगानीको आम्दानी,लाभांश सबै विदेश लैजान केन्द्रीय बैंक आइरहननपर्ने  र सम्बन्धित बैंकबाटै काम तमाम हुने भनिएको छ ।

विदेशी लगानी भित्र्याउन हालसम्म रहेको पवित्र उद्देश्यमाथि उक्त विनियमावलीले कुनै छेकबार लगाएको देखिँदैन । तर,व्यवसाय र बैंकिङ क्षेत्रमा सबैभन्दा खराब मानिने कालोसूचीमा रहेको व्यवसाय र व्यवसायीलाई राष्ट्र बैंकले भन्दैमा अन्य मुलुकका सेतासूचीका (असल) व्यवसायीहरुले लाखौं करोडौं डलर लगानी गर्छन् भनेर कल्पना गर्नु बौद्धिक,तार्किक मूर्खता बाहेक अरु केही हुन नसक्ने विज्ञहरु बताउँछन् । 

त्यसैगरी केन्द्रीय बैंकले विदेशी लगानी तथा आर्जित रकममा लाभांशसमेत विदेश लैजान अब राष्ट्र बैंकको स्वीकृति आवश्यक नरहने व्यवस्था गरेको छ । सतहमा हेर्दा यो व्यवस्था अन्य वैदेशिक लगानीका कम्पनीको निम्ति गरिएको देखिन्छ । तर,अन्तर्य,गभर्नर विश्व पौडेलले काँग्रेसका पूर्व सांसद तथा विवादास्पद व्यवसायी विनोद चौधरीका लागि नबिल बैंकबाट प्राप्त हुने बोनस विदेशी मुद्रामा बंगलादेश हुँदै विदेश पुर्याउन सहयोग गरिएकोमा दुई मत छैन । 

"बाँदर लड्ने भीरमा हिमालयन जाभाको आउटलेट चाहिँ कुन पौडेलले खोलिदेला ?"

राष्ट्र बैंकका एकजना भूतपूर्व गभर्नर भन्छन्, ‘लगानी भित्र्याउने नाममा गरिएको यो व्यवस्था विदेशी कम्पनीको नाममा अमूक लगानीकर्ता रहेका एकाध नेपालीका लागि यताको लाभांश विदेश लैजान मार्ग प्रशस्त हो ।’ नबिल बैंकमा लगानी रहेको बंगलादेशको विवादास्पद कम्पनी एनबी इन्टरनेशलले यताको लाभांश लैजान पापड बेल्न परेको थियो । कानुनतः अस्पष्ट रहेको भन्दै लामो समय रोकिएको उक्त कम्पनीलगायत केहीको लाभांश लैजान तीन वर्षअघि फुकुवा गरिएको थियो । तर पनि नबिल बैंकको सिफारिसपछि केन्द्रीय बैंकको स्वीकृतिको झिनो प्रक्रिया भने कायम थियो । तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको नियुक्तिसँगै चौधरीले भोगेका केही अप्ठेरालाई ध्यानमा राखेर आगामी दिनमा राजनीतिक परिस्थिति आफू अनुकूल नबनेमा थप अप्ठेरोको आकलनसहित सदाको लागि गाँठो फुकाइएको हो ।

यता गभर्नर पौडेल साना व्यवसायी, किसानको पक्षमा वकालत गर्दै हप्तैपिच्छे गाउँ गाउँ डुली हिँडेका छन् । तर,उनको ‘पोलिसी डिपार्चर’ बालुवाटारबाट गाउँतर्फ नभएर ‘रवि भवन’, सानेपातर्फ गएकोमा दुईमत छैन । त्यसैले मध्यपहाडी लोकमार्गमा सयर गर्दा उनले भन्ने गरेका केही यादगार क्षणबारे केन्द्रीय बैंकका हाकिमहरुले नै बेलाबेलामा चर्चा गर्दछन् । भन्छन्,‘रुकुम,जाजरकोटको डाँडामा पुगेर गाडीबाट ओर्लेपछि गभर्नरले यहाँ एउटा हिमालयन जाभाको आउटलेट भए कति राम्रो हुन्थ्यो है ?’ गभर्नरको कुरो सुनेपछि उनै कर्मचारीहरुलाई लागेको छ, ‘अब यो बाँदर लड्ने भीरमा हिमालयन जाभाको आउटलेट चाहिँ  कुन पौडेलले खोलिदेला ?

टिप्पणीहरू