खड्गवार पार्क वनभोज र पर्यटनको आकर्षण

खड्गवार पार्क वनभोज र पर्यटनको आकर्षण

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १३ स्थित रानीघाट (खड्गवार) पार्क पर्यटकीय स्थलको रूपमा परिचित हुन थालेको छ। आन्तरिक पर्यटकहरूको पहिलो रोजाइ बनेको उक्त पार्कमा दिनहुँ सयौं पर्यटक पुग्ने गरेका छन् ।

पार्क व्यवस्थापन समिति अध्यक्ष दिनेश कुमार वलीका अनुसार, बिदा र चाडपर्वका दिन पार्कमा अत्यधिक भीड हुने गर्दछ। सिजनमा ६० भन्दा बढी समूह वनभोजका लागि पार्कमा पुग्ने गरेका छन् । विशेषगरी बाँके, बर्दिया, कैलाली, दाङ र सुर्खेतका स्थानीय आकर्षित देखिन्छन् ।

प्राकृतिक रमणीयस्थलको रूपमा खड्गवार पार्कको नजिकै हात्तिसार, वन र खोलाले पर्यटकलाई थप आकर्षित गरिरहेको छ । २०७९ फागुनदेखि सार्वजनिक गरिएको पार्क अहिले सामाजिक सञ्जालमा पनि भाइरल बनेको छ।

स्थानीय आवश्यकता अनुसार वनभोज स्थल, खाना, साउण्ड सिस्टमदेखि काम गर्ने जनशक्तिसम्म व्यवस्थापन समितिले उपलब्ध गराउँछ। यसरी स्थानीयले रोजगार पाउँदा साथै स्थानीय उत्पादन जस्तै तरकारी, खसीबाख्रा आदिको खपतबाट लाभ पनि प्राप्त भएको छ। रानीघाट मध्यवर्ती सामुदायिक वन क्षेत्रअन्तर्गत २३० घरपरिवारले प्रत्यक्ष लाभ उठाउँदै आएका छन्।

पार्क नजिकैको खड्गवार हात्तिसारमा रहेको संग्रहालय र पार्कभित्रको हरियाली, बन, फोटो खिच्ने स्थान, खोलाको दृश्य र माछा हेर्ने सुविधा आदिले वनभोज स्थललाई अझ रमणीय बनाएको छ।

वनभोज स्थलको रूपमा लोकप्रिय खड्गवार पार्क पर्यटकीय आकर्षणको केन्द्रका रूपमा समेत परिचित हुन थालेको हो ।

टिप्पणीहरू