ओलीले शीतल निवासमा बोलेपछि प्रचण्डको जवाफ
गत साता राष्ट्रपति रामचन्द्र पौडेलको सहजीकरणमा शीतल निवासमा तीन ठूला दलका नेता तथा भूतपूर्व प्रधानमन्त्रीहरुसँग प्रधानमन्त्री सुशीला कार्कीको संयुक्त भेटवार्ता भएको थियो । त्यसैको जगमा अस्ति शनिबार दिउँसो बालुवाटारमा पनि प्रधानमन्त्री कार्कीले काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग पुनः भेटवार्ता गर्नुभयो ।
शीतल निवासमा भएको भेटमा आफ्नो भनाइ राख्ने क्रममा एमाले अध्यक्ष ओलीले गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगमा आफू बयान दिन नजाने अडान लिएका थिए । उनको भनाई थियो, ‘बरु मलाई गोली ठोक्नु,कुनै हालतमा बयान दिन जान्नँ । त्यो आयोगको कामै छैन ।’
ओलीको चर्को आवाजपछि प्रचण्डले जवाफ दिँदै भनेको सन्दर्भ उल्लेख गर्दै स्रोत भन्छ, ‘कहाँ जान्न भनेर हुन्छ ? जानैपर्छ । यसरी जाँदा कानुनको सम्मान गरेको देखिन्छ । आयोगमा गएर बोल्न मन लागे बोल्नुस्,मन नलागे नबोल्नुस् । तिक्तता बढाउन चाहिँ हुन्न ।’
सोही क्रममा राष्ट्रपति पौडेलले पनि ‘यसो बयान जस्तो दिए गरे भइहाल्यो नि’ भनेर सम्झाएपछि ओलीको भनाइ थियो, ‘म कहाँ बयान दिन जान्छु ? बयान लिनैपर्ने भए मेरो घरमा मान्छे पठाउनु । म चिया खुवाएर गफ गरेर पठाइदिउँला ।’
टिप्पणीहरू