कत्ति पनि पग्लिएन ओलीको मन
एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीको पहिलो नम्बरमा उपाध्यक्ष तथा पूर्व माओवादी नेता रामबहादुर थापा बादललाई राखेको छ । दोस्रो नम्बरमा सँधै अध्यक्ष केपी शर्मा ओलीको आशिर्वाद प्राप्त मोरङका गुरु बराललाई राखिएको छ ।
हिजोको सचिवालय बैठकमा पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई बन्दसूचीमा समावेश गरेर एकताको सन्देश प्रवाहका लागि गरिएको आग्रहलाई ओलीले लत्याइदिएका छन् । उपाध्यक्ष रघुजी पन्तले उक्त आग्रह गरेका थिए भने अर्का उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईले यसअघि विभिन्न अवसर पाएका, पटक पटक समानुपातिक सांसद बनेकालाई नदोहोर्याउन गरेको आग्रह पनि समेटिएको देखिँदैन ।
सूचीको दोस्रो नम्बरमा रहेका बराल हालै सम्पन्न ११ औं महाधिवेशनमा उपाध्यक्षमा पराजित ओली समूहका उम्मेदवार हुन् । त्यसैगरी लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेललाई तीन नम्बरमा राखिएको छ । उनी पार्टीको लेखा आयोग अध्यक्षमा चौथो पटक निर्वाचित भएका हुन् भने योजना आयोगको उपाध्यक्ष भइसकेका छन् ।
महिलातर्फ एमालेले सचिव पद्यमा अर्याललाई १ नम्बरमा राखेको छ । निरुदेवी पाललाई दोहोर्याइएको छ भने शान्ता चौधरी, कोमल वलीलाई पनि दोहोर्याइएको छ । भूमिका सुब्बा पनि बन्द सूचीमा समेटिएकी छन् । सुब्बा वसन्त नेम्वाङकी श्रीमती हुन् ।
यसअघि कोमललाई पहिले राष्ट्रिय सभा सदस्यसँगै पार्टी केन्द्रीय सदस्य बनाइएको थियो । उनैलाई अघिल्लो निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि दाङमा एमालेले प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनाए पनि पराजित भएकी थिइन् ।
पिछडिएको क्षेत्रबाट हुम्लाका गोरखबहादुर बोगटीको नाम राखिएको छ । पहिले उक्त क्षेत्रबाट परेका मोहन बानिया अहिले यौन काण्डमा डामिएका छन् ।
टिप्पणीहरू