निर्वाचन आयोगमा दिउँसाे साना दल, रात परेपछि ठूला
आगामी प्रतिनिधिसभा निर्वाचनको लागि समानुपातिक बन्दसूची बुझाउने आज अन्तिम दिन हो । तर यो समाचार तयार पर्दासम्म ठूला दलले बन्दसूची पेश गरेका छैनन् ।
निर्वाचन आयोगले हिजो र आज समानुपातिक बन्दसूची बुझाउने समय तोकेकोमा हालसम्म नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीले बन्दसूची बुझाएका छैनन्। यद्यपि, उनीहरुले पार्टी प्रतिनिधिलाई आयोगमा पठाएर प्रक्रिया थालेको बताइन्छ ।
हालसम्म नौ दलले मात्र बन्दसूची बुझाएको आयोगका सूचना अधिकारी (उपसचिव) कुलबहादुर जिसीले जानकारी दिए । उनका अनुसार मजदुर किसान पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, गतिशील लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल लगायतले बन्दसूची बुझाएका हुन् । बन्दसूची पेश गर्ने अन्तिम दिन समेत घर्किसकेको अवस्थामा बाँकी दलहरुको प्रक्रिया के हुन्छ ? भन्ने जिज्ञासा पैदा भइरहँदा उपसचिव जिसीले भन्छन्, ‘अब समय थपिदैँन, दलहरु प्रक्रियामै हुनुहुन्छ, आजकै मितिलाई कायम गरेर प्रक्रिया अघि बढाउँछौ ।’
यसैबीच रेशम चौधरी संरक्षित नागरिक उन्मुक्ति पार्टी नेपाल, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले एउटै चुनाव चिन्ह कायम गरेर निर्वाचनमा होमिने भएका छन । केही बेरअघि आयोगको कार्यालय पुगेका चौधरीले एउटै चुनाव चिन्ह (जातो) कायम गरेर बन्दसूची पेश गर्न लागिएको जानकारी दिएका हुन् ।
टिप्पणीहरू