कार्यालय सहयोगीविरूद्ध भ्रष्टाचार मुद्दा
घुससहित समातिएका यातायात व्यवस्था कार्यालय भरतपुर, चितवनका कार्यालय सहयोगी ईन्द्रजित गुरुङउपर भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीविरुद्ध मुद्दा दर्ता गरेको हो ।
आयोगको टंगालबाट खटिएको टोलीले गत जेठ ३० गते गुरुङलाई कार्यकक्षबाटै एक लाख ८५ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । उनले घुस खाएर पञ्जीकरण, ब्लुबुक, जाँचपास र परमिट नवीकरणलगायत सेवामा सहजीकरण गरिदिने गरेको अख्तियारको ठहर छ ।
अख्तियारका अनुसार कार्यालय सहयोगी गुरुङले भ्रष्टाचारको कसुर छल्न सेवाग्राहीलाई आफू कर्मचारी नभएको बताउने वा बाहिरी व्यक्तिलाई करार नियुक्ति दिने आश्वासनमा आफूअनुकूल गैरकानूनी कार्य गराउने गरेको पनि पाइएको छ । उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम कैद र जरिवाना सजाय हुन अख्तियारको मागदाबी छ ।
टिप्पणीहरू