मिराजलाई यसकारण पछुतो

मिराजलाई यसकारण पछुतो

भदौ २३ गतेको जेनजी प्रदर्शनको लागि अघिल्लो दिन जिल्ला प्रशासन कार्यालय पुगेर अनुमति लिने युवाहरुको अगुवा थिए, मिराज ढुंगाना । तर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र  काठमाडौँ महानगरपालिकाका मेयर बालेनसाहको एकतामा अधिकांश जेनजी समूह समेटिदा मिराजकाे समूह भने कहिकतै पर्दामा देखिएन । 

सिंहदरबारभित्र सरकारले विभिन्न जेनजी समूहसँग दश बुँदे सम्झौता गर्दै गर्दा बाहिर गेटबाटै धपाइएका उनै मिराजले यतिबेला एउटा फोटो खिचाएर गल्ती गरेको अनुभव निकटस्थ साथीहरुसँग सुनाउन थालेका छन् । भदौ २२ गते सिडिओ कार्यालय पुगेर प्रदर्शनको अनुमति लिए पनि मिराज सडकमा देखिएका थिएनन् । केही दिनपछि उनले आफूलाई थ्रेट आएको कारण प्रदर्शनमा सहभागी हुन नपाएको स्पष्टीकरण दिएका थिए । तर निकटस्थ एक जेनजी अभियन्ताका अनुसार प्रदर्शन हुँदै गर्दा मिराजलाई कुनै थ्रेट नभई परिवारले रोकेको थियो । उनले अघिल्लो दिन भक्तपुर पुगेर दुर्गा प्रसाईसँग भेटेको विषय सार्वजनिक भएपछि परिवारले गत चैत १५ को घटना सम्झिएर मिराजलाई प्रदर्शनमा जान रोकेको हो । 

‘तिनकुनेमा जे भएको थियो, उसको परिवारले बानेश्वरमा त्यस्तै हुन्छ कि भनेर अनुमान गरेर रोकेको रहेछ’, ती अभियन्ताले भने, ‘सरकारले राजावादीलाई ठाउँमा ल्याउन जे पनि गर्न सक्छ र आफ्नो छोरोले पनि दुर्गा प्रसाईसँग फोटो खिचाएपछि निगरानीमा परेको परिवारको बुझाई रहेछ ।’ 

बताइएअनुसार परिवारले अहिले पनि मिराजलाई त्यतिबेला प्रदर्शनमा रोकेर ‘राम्रै गरिएछ’ भन्दै आएको छ । तर मिराजले भने प्रसाईसँग फोटो खिचेकोमा ठूलो गल्ती भएको बताउन थालेका छन् । ‘दुर्गा प्रसाईलाई भेट्न नगएको भए पहिलो कुरा उ आफ्नै साथीहरुको बहिष्कारमा पर्दैनथ्यो,  दोस्रो कुरा यतिबेला उ नै जेनजी नेता हुने थियो, त्यसैले त्यो फोटोले कहि न कतै बाटो बिग्रिदै गयो भन्न थालेको छ’, ती अभियन्ताले सुनाए । 

त्यसो त, मिराज स्वयंलाई पनि आफूहरुको माग तत्काल पुरा हुन सक्दैन भन्ने राम्ररी थाहा भएको बताइन्छ । ‘तर कि चुप लागेर बस्नुपर्यो, कि फरक देखिने प्रयास गर्नुपर्यो’, उनै अभियन्ताले सुनाए । 

अहिले सुदन गुरुङ नेतृत्वको जेनजी काउन्सिल, रक्षा बम नेतृत्वको जेनजी फ्रन्ट, जेनजी मुभमेन्ट अलायन्स, जेनजी युनाइटेडलगायतका दर्जनौ समूह रवि, कुमालन र बालेनको एकतामा समेटिरहँदा मिराजको समूह भने एक्लो बनेको देखिन्छ । तत्काल प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको रटानले पछिल्लो समय उनलाई कतिपयले ‘राजावादी’ समेत भन्न थालेका छन् । यद्यपि, उनले आफूलाई स्वतन्त्र दावी गर्दै आएका छन् ।

टिप्पणीहरू