छलफल भइरहँदा किन अमेरिका गए धुर्मुस ?

छलफल भइरहँदा किन अमेरिका गए धुर्मुस ?

चर्चित हाँस्य कलाकारमा गनिन्छन् सीताराम कट्टेल उर्फ धुर्मुस । मेरी बास्सै टेलिसिरियलबाट चर्चामा आएका उनी पटकथा लेखक पनि हुन् । केही वर्षयता समाजसेवा गर्दै आएका थिए । वि.सं.२०७२ सालमा धुर्मुस र कुञ्जना घिमिरे (सुन्तली) हाँस्य प्रस्तुति दिन अमेरिका गएका बेला नेपालमा ठूलो भूकम्प गयो । उनीहरुले उतैबाट चन्दा उठाएर भूकम्पपीडितलाई सहयोग गरे । त्यसपछि समाजसेवाको दुनियाँमा पाइला टेकेका उनीहरूले काभ्रेको पलाञ्चोक भगवती मन्दिरनजिकै पहरी बस्ती निर्माण गरिदिए । ‘धुर्मुस–सुन्तली फाउण्डेशन’ नामक एनजिओमार्फत देश–विदेशमा रहेका नेपालीबाट सहयोग उठाएर समाजसेवा गरें । नमूना बस्ती निर्माणपछि सर्वत्रबाट वाहवाही बटुलेको सो जोडीले चितवनको भरतपुर महानगरपालिका–१५ मा गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण गर्ने योजना बनायो । 

संघ र प्रदेश सरकारसँग सहकार्य गरेर रंगशाला निर्माणको काम शुरु पनि भयो तर काम सम्पन्न हुन सकेन । सामान खरिदको भुक्तानी दिन नसकेका धुर्मुसले दर्जनौं मुद्दा खेप्नुप¥यो । पछिल्लो समय उनी निकै तनावपूर्ण अवस्थामा देखिन्थे । मोटो फाइल बोकेर कहिले सिंहदरबार त कहिले भरतपुर महानगरपालिकाको कार्यालय धाइरहेका हुन्थे । व्यवसायीहरूले भुक्तानी पर्खिरहँदा उनी भने अलपत्र छोडेर केही दिनअघि परिवारसहित अमेरिका गएका छन् । 
बीचैमा किन देश छाडे ? तथ्य विस्तारै खुल्दै जाला । जनआस्थाले उनको अमेरिकी परमानेण्ट रेसिडेण्स कार्ड फेला पारेको छ । उनले एक वर्षअगाडि अर्थात सन् २०२४ नोभेम्बर २७ मै सो कार्ड लिएको देखिन्छ । उक्त कार्डको भ्यालिडिटी सन् २०३४ नोभेम्बर २७ सम्म रहेको छ । क्याटेगोरी ई–१४ अन्तर्गतको कार्डको नम्बर युएससिआईएस ०८९–३७४–२०९ हो । कार्डअनुसार सन् १९८३ सेप्टेम्बर ३० मा जन्मिएका थिए । छोरी सुबिहानीले पनि अमेरिकाको परमानेण्ट रेसिडेण्ट कार्ड पाइसकेकी छन् । 

कुञ्जना भने श्रीमतीको सम्बन्धले अमेरिका गएकी हुन् । ई–१४ क्याटेगोरीको कार्ड वाहकले अमेरिकामा काम गर्न पाउँछन् । उनीहरू नेपाललगायत अन्य मुलुक पनि जान सक्छन् तर त्यसका लागि कार्ड लिएको एक वर्षभित्र अमेरिका प्रवेश गरिसकेको हुनुपर्छ । त्यसैले पत्तो नपाउनेगरी एक वर्ष हुनुअगावै कतार एअरवेजको उडानमार्फत त्यता गएका हुन् । धुर्मुसले आफैं अमेरिका गएको खुलासा गरिसकेका छन् । छोरीको उपचारका लागि गएको उनको भनाइ छ । 
रोचक प्रसंग के भने, अमेरिकाले कुनै आर्थिक लगानी वा कारोबार नगरिकन कसैलाई त्यो कार्ड दिँदैन । झन् डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि कार्डमा कडाइ गरिएको छ । गोल्ड कार्ड लिनैका लागि ५० लाख अमेरिकी डलर तिर्नुपर्छ । 
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालसहितले संघीय सरकारसँग एक चरणको छलफल गरिसक्दा उनी देश नै छोडेर हिँड्नुले सरकार नै अलमलमा परेको देखिन्छ । फाउण्डेशनको ऋण तिर्नका लागि संघीय सरकारले केही समयअगाडि नै १५ करोड रूपैयाँ महानगरलाई पठाइसकेको थियो । तर, बेरुजुको डरका कारण महानगरले त्यो रकम फाउण्डेशनलाई दिन मानेको थिएन ।

चौतर्फी दबाब भएपछि महानगरबाट मेयरसहितको टोलीले सिंहदरबार आएर अर्थमन्त्रीलगायतसँग छलफल गरेको थियो । समस्या समाधानको बाटो खोज्दै गर्दा उनी आफैं अमेरिका गएका छन् । उनी फर्किन्छन् कि त्यतै बस्छन् ? कुर्नैपर्ने छ ।

(जनआस्था साप्ताहिकको पुस ९ गते बुधबारको अंकमा प्रकाशित)   

 

टिप्पणीहरू