एमालेमा नेता वरपरका लागि मात्रै योग्य ठान्ने परिपाटी
नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेताको वरिपरी घुम्नेलाई मात्रै योग्य ठान्ने परिपाटी नतोडेसम्म पार्टी बलियो नहुने बताएका छन् । यस्तो परिपाटी अन्त्य गर्न महाधिवेशनमा आफूहरूले छुट्टै समूह बनाएको उनको भनाइ छ ।
ईश्वर पोखरेल पक्षधर युवाहरूको भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष पाण्डे कार्यकर्ता आफैँले मूल्यांकन गरेर नेतृत्व छान्ने थिति बसाल्न र पार्टीलाई सामूहिक ढंगले अघि बढाउन महाधिवेशनले सही नेतृत्व चयन गर्ने विश्वाससमेत व्यक्त गरे ।
अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले भने, ‘कार्यकर्ताको बीचमा स्थापित मान्छे होइन, नेताको वरिपरी लाग्ने मान्छे मात्रै नेतृत्वका लागि योग्य ठान्ने परिपार्टी हुक्र्यौं । हामी यसको विपक्षमा छौ ।’
पार्टीलाई कसैले हल्लाउन नसक्ने गरी बलियो बनाउन महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुपर्नेमा उनले जोड दिए । भने, ‘यही लडाई यो महाधिवेशनको लडाईँ हो । यो लडाईमा हामी जित्न सकौ । जित्नेगरी अगाडि बढौं ।’
अध्यक्ष ओलीले दुई कार्यकालमात्रै अध्यक्ष रहनेगरी आफूले बनाएको विधान फेरी संशोधन गरेको भन्दै पाण्डेले आपत्तिसमेत जनाएका छन् ।
टिप्पणीहरू