मानव अधिकार रक्षकको सुरक्षामा जोड
राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार रक्षकहरुको सुरक्षाका लागि आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ । आज मानव अधिकार रक्षकहरुको अन्तर्राष्ट्रिय दिवसका अवसरमा विज्ञप्ति जारी गर्दै आयोगले मानव अधिकार रक्षकसम्बन्धी छुट्टै कानून निर्माणको माग गरेको हो ।
मानव अधिकार रक्षकहरुको सुरक्षामा संवेदनशील बन्न र अधिकारकर्मीहरुलाई धम्की र हिंसा गर्नेलाई कारबाही गर्न पनि आयोगको अनुरोध छ । आयोगका अनुसार मानव अधिकार रक्षकहरुले आफ्नो कामको सिलसिलामा विभिन्न पक्षबाट धम्की, आक्रमण र हिंसामा परेको भन्दै उजुरी दिने गरेका छन् ।
त्यसउपर अध्ययनको क्रममा उनीहरुले त्यस्ता समस्या भोग्नुपरेको पुष्टि भएको आयोगको ठहर छ । ‘मानव अधिकार रक्षकहरुले विभेद, चरित्रहत्या, यौन दुर्व्यवहारजस्ता विशेष प्रकारको हिंसा र दबाबको सामना गर्नुपरिरहेको राज्यका निकायहरुबाट पहिचानको स्वीकार्यता हुन नसकेकोलगायत गुनासाहरु आयोगमा प्राप्त भएका छन्,’ विज्ञप्तिमा भनिएको छ ।
त्यसकारण मानव अधिकार रक्षकसम्बन्धी छुट्टै ऐन बनाउन सरकारलाई सिफारिस गरेको जानकारी दिँदै आयोगले विद्यमान कानूनहरुको पनि प्रभावकारी कार्यान्वयन र आपतकालिन कोष र सुरक्षा संयन्त्र विकासलगायत ठोस कदम चाल्न पनि ध्यानाकर्षण गराएको छ ।
टिप्पणीहरू