चुनावमा फौज खटाउन सशस्त्रले बनायो ‘परिचालन नीति’
सशस्त्र प्रहरीले आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन ‘परिचालन नीति’ तर्जुमा गरेको छ ।
उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गर्दै १७ बुँदे नीति तर्जुमा गरेको सशस्त्रले जनाएको छ । जसअनुसार निर्वाचन सुरक्षार्थको दोस्रो घेरा वा सहयोगी भूमिकामा अन्य सुरक्षा निकायसँगको समन्वयमा सबै निर्वाचन क्षेत्रमा सशस्त्र प्रहरी खटिनेछन् ।
त्यसरी खटाइनुपूर्व फौजलाई निर्वाचन सुरक्षा अनुशिक्षण तालिम दिइनेछ । त्यस्तै, चुनावमा सुपरिवेक्षण, समन्वय र सहजीकरणका लागि केन्द्रीय कार्यालयसँगै प्रत्येक बाहिनी मुख्यालय, गण र गुल्ममा ‘निर्वाचन सेल’ गठन गरिनेछ ।
निर्वाचन सुरक्षार्थ मोबाइल, स्ट्राइकिङ्ग, क्युआरटी रिजर्भ गर्ने र संवेदनशील क्षेत्रमा बन्दोबस्तीसहित सशस्त्र प्रहरी खट्नेछन् भने सीमा इलाकामा पनि परिचालनको नीति बनाइएको छ ।
‘निर्वाचन क्षेत्रसहितको प्रदेशगत साथै जिल्लागत नक्सा तयार गरी निर्वाचन सुरक्षामा महत्त्वपूर्ण स्थानहरु अंकित गरी प्रभावकारी बनाई परिचालन गर्ने,’ विज्ञप्तिमा भनिएको छ, ‘आम नागरिकको मताधिकारलाई सुनिश्चित गर्दै निर्वाचनविरोधी कुनै गतिविधि हुन नदिन सूचना संकलन तथा योजनाबद्ध ढंगबाट परिचालन गर्ने ।’
क्युआरटीमा रहेको जनशक्तिलाई चुनावको अघिल्लो दिनदेखि निर्वाचन सम्पन्न भएको भोलिपल्टसम्म हातहतियार, असवावका साधन तथा सवारी साधनसहित युनिटको जिम्मेवारी क्षेत्रमा खटाइनेछ ।
चुनावमा जिल्लाको ओभरअल कमाण्डको जिम्मेवारी सम्बन्धित जिल्लाको अप्रेसनल कमाण्डको रहनेछ । उसले अन्य सरोकारवाला निकायसँगको समन्वयमा जिल्लाको सुरक्षा गर्नुपर्ने छ ।
यसैगरी, चुनावको एक महिनाअगावै आवश्यक बन्दोबस्तीका सामग्री र सवारी साधनसहित निर्वाचन क्षेत्रमा सशस्त्रको सुरक्षा वेश स्थापना र स्ट्राईकिङ्ग तथा मोबाइल टोली निर्वाचनको १५ दिनअघिबाट आवश्यक सामग्री र गाडीसहित परिचालन हुनेछ ।
साथै, यी नीतिअनुरुप परिचालनमा कठिनाई भएमा बाहिनी मुख्यालयहरुले प्रदेश सुरक्षा समन्वय समितिसँग समन्वय गरेर प्रदेश कमाण्ड पोष्ट तथा निर्वाचन सेल बनाई केन्द्रीय निर्वाचन सेलको स्वीकृतिमा फेरबदल गर्न सकिने पनि जनाइएको छ ।
टिप्पणीहरू