युवाको उपस्थिति कम भएकोमा प्रचण्डको असन्तुष्टि
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सबै वामपन्थी शक्तिलाई एकैठाउँमा ल्याएर राजनीतिबाट विश्राम लिने बताएका छन् ।
अखिल (क्रान्तिकारी)ले आज राष्ट्रिय सभा गृहमा आयोजना गरेको जेनजी महोत्सवलाई सम्बोधन गर्दै उनले वामपन्थीहरूलाई एकीकृत गर्नकै लागि नेकपा बनाएको पनि दावी गरे । मुलुकमा अझै संकट कायमै रहेको र त्यसलाई परास्त गर्न राजनीतिक दल र जनता एकताबद्ध हुनुपर्ने प्रचण्डको भनाइ छ ।
‘हामीहरु अहिले नै एटोमिक मिसाइल बनाएर विदेशी हस्तक्षेप रोक्न सक्ने स्थितिमा पुगेका छैनौँ’, उनले भने, ‘तर तीन करोड नेपाली एउटै ढिक्का भएर लड्नसक्ने तागत हामीसँग छ ।’
पूर्वप्रधानमन्त्री तथा संयोजक प्रचण्डले सम्बोधनका क्रममा आयोजकप्रति केही असन्तुष्टि पनि पोखेका थिए । कार्यक्रममा युवाहरूको उल्लेख्य उपस्थिति नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।
‘तपाईंहरूले जेनजी महोत्सव आयोजना गर्नुभयो । यो राम्रो कुरा हो । तर यहाँ जुन रुपमा उपस्थित हुनुपर्थ्यो, त्यस्तो नहुँदा अलि नमज्जा लागेको छ’, प्रचण्डले भने ।
आउने दिनमा तयारी गरेरमात्र कार्यक्रम आयोजना गर्न पनि उनले निर्देशन दिए । भने, ‘हल खचाखच गर्न तपाईंलाई केही गाह्रो थिएन, आउने दिनमा तयारी गरेर मात्र आयोजना गर्दा राम्रो हुन्छ, बरु दुई दिन ढिला भएर केही बिग्रिदैँन ।’
टिप्पणीहरू