एमालेमा अवसर पाउने बाहिरियाहरु
महाधिवेशनको संघारमा उभिएका बेला त्यसका अध्यक्ष केपी ओलीले कस्ता कस्ता पात्रलाई च्यापेर इमान्दार र जिम्मेवार कार्यकर्ताहरूको मन दुखाएका थिए भन्ने चर्चा व्यापक छ । ओलीले ज–जसलाई काखी च्यापे उनीहरूले नै अहिले उनको साथ छोडेको देखिन्छ । जस्तोकि विगतमा सर्वाधिक निकट गोकुल बाँस्कोटा ।
ओलीले व्यापक दबाव झेलेर भएपनि लाभका पद र जिम्मेवारीहरू सुम्पिएका धेरै व्यक्ति अहिले पराई बनिरहेका बेला महेश बस्नेतले काँध थापेको प्रसङ्ग पनि छलफलको विषय बन्ने गरेको छ । उस्तै काण्ड लागेर ओलीले जोगाएका ऐन महर, जेलसम्म पुगेर धरौटीमा छुटेका पासाङ शेर्पा अपवाद हुन् ।
‘इच्छाराज तामाङ जेलमा छन्, देवी भट्टचन भर्खरै प्रहरीको कब्जामा परेका छन् । राज्यलक्ष्मी गोल्छा कता छिन् ? यी सबैलाई उनैले समानुपातिक सांसद बनाएका थिए ।’ छुट्टै पार्टीको अध्यक्ष हुँदाहुँदै सूर्य चिन्हबाट सांसद बनेका नेपालमा क्रिश्चियानिटीको प्रचारक एकनाथ ढकालदेखि चुरे भावरका नेता बद्री मैनालीसम्म कसरी ओलीका प्रियपात्र बने खोजीको विषय हो ।
पहिलेकी पञ्च कोमल वली, अहिलेका खुंखार राजावादी जगमान गुरुङ, दुर्गा प्रसाईसम्मको नामसमेत यस्तो सूचीमा छुट्न नहुने एमाले कार्यकर्ताहरु बताउँछन् । स्नातक उत्तीर्णको योग्यता नपुगेर मात्र करिश्मा मानन्धर चलचित्र विकास बोर्डको अध्यक्ष बन्न पाइनन् । नत्र ओलीको त्यसमा लाने जोड थियो ।
एमालेमा प्रवेश गर्नेबित्तिकै टिकट पाएका नवराज सिलवालदेखि पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसम्मको चर्चा एमालेभित्र जारी छ । कुनै पनि कार्यकर्ताले योग्यता र क्षमताका आधारमा राजनीतिक तथा सार्वजनिक लाभका पद र अवसरहरू पाइने अपेक्षा राखेको हुन्छ। तर, ओलीले अहोरात्र खट्ने कार्यकर्ताको कदर नगरी सिधै प्रवेश गरेर चाकरी गर्नेहरुलाई जिम्मेवारी र अवसर दिने गरेका थिए ।
त्यसैगरी, ओली नागरिक उड्डयान प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीविरुद्ध अख्तियार सक्रिय बनेपछि महेश बस्नेत निकट नवीन बस्नेतमार्फत् एयरपोर्टसम्बन्धी ठेक्कामा नसमातिउन् भनेर चिन्तित बनेको बुझिएको छ ।
(जनआस्था साप्ताहिकको मंसिर २४ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू