श्रीमानहरूमाथि छानीछानी आक्रमण शुरु
प्रविधिको विकासले मानिसको दैनिकी सहज बनाएकोमा सन्देह छैन, तर प्रविधिको बढ्दो दुरुपयोग चुनौती बनिरहेको छ । सामाजिक सञ्जाल कति शक्तिशाली बन्दै गएको छ,भदौ २३ र २४ को घटना हेरे पुग्छ ।
टिकटक,डिस्कर्ड,रेडिटजस्ता प्ल्याटफर्मबाट आह्वान गरेकै भरमा देशमा विध्वंश मच्चियो । दुई ठूला दल मिलेर बनेको शक्तिशाली सरकार केही घण्टामै ढल्यो । यतिबेला फेरि एउटा समूह सामाजिक सञ्जालबाट न्यायालयप्रति घृणा फैलाउँदै अर्को खतरा निम्त्याउन उध्यत देखिएको छ ।
‘दि डार्क फाइल क्याम्पेन सेन्टर’ नामक समूहले प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका न्यायाधीशविरुद्ध अभियान चलाउन थालेको हो । उक्त समूहको संयोजक बताउने राजकुमार तिमल्सिनाले फेसबुकमार्फत् लगातार न्यायाधीशलाई ‘भ्रष्ट’ करार गर्दै जनकारवाहीमा उत्रिन युवालाई खुला आह्वान गरिरहेका छन् ।
फेसबुकमा १९ हजारभन्दा बढी फ्लोअर भएका उनको गतिविधि केलाउने हो भने देश तथा विदेशमा रहेका युवालाई न्याय परिषद् खारेजीका लागि उक्साइरहेको देखिन्छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत,बरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल,कुमार रेग्मी,मनोजकुमार शर्मा,हरिप्रसाद फुयाँलसहित दर्जनौँको फोटो शेयर गरेका उनले कथित पीडितहरूलाई सम्पर्कमा आउनसमेत भनेका छन् ।
‘केही कालाकोटे वकिलहरूमार्फत् डिल्लीबजार र चारखालका जुवा घरमा बसेर राति जुवा खेल्दै रक्सी र केटीसँग रमाउँदै गर्ने न्यायाधीशहरूले नेपाली जनतालाई अन्यायमा पारेका छन्’, तिमिल्सिनाको आरोप छ, ‘कति मुद्दाको अनुसन्धान पैसा र पहुँचको भरमा प्रभावित बनेर जनताको घरबास उठाएका छन्, यी भ्रष्टहरूलाई कुनै पनि सत्ता र सरकारले अहिलेसम्म छुन सकेन, सधैँभरि यिनीहरूकै रजगज र राईदाई चल्ने, यिनीहरूको मनपरीतन्त्रले हदभन्दा सीमा नाघेको छ ।’
उच्च अदालत सुर्खेतका न्यायाधीश मातृकाप्रसाद भण्डारीको नामै किटेर उनले राजनीतिक आबद्धता पत्ता लगाउन पनि उर्दी गरेका छन् । १७ जना न्यायाधीशविरुद्ध आन्दोलनमा गर्नुको विकल्प नरहेको उनको तर्क छ ।
‘विशेष गरी सर्वोच्च अदालतका तीनजना पूर्वप्रधानन्यायाधीश र अहिलेका १७ जना भ्रष्ट न्यायाधीशहरूको विरुद्धमा सशक्त आन्दोलन गर्नुको विकल्प छैन’, उनले अर्को पोस्टमा लेखेका छन्, 'यो देशमा भ्रष्टाचारीलाई संरक्षण गर्ने र नेताहरुलाई बचाउने सबै काम न्यायाधीशले नै गर्ने हुन् भन्ने कुरामा दुई मत छैन।’
तिमल्सिनाले आफ्नो समूहको संरचना सार्वजनिक गर्दै ‘करप्ट किलर प्रमुख’मा पर्वत खत्रीलाई तोकेका छन् । त्यस्तै, बंगलादेशका इस्लाम खानलाई केन्द्रीय साइबर तथा सरकारी वेबसाइट ह्याक गर्ने जिम्मेवारी दिइएको छ ।
भ्रष्टाचारविरुद्धको अभियानको लागि उक्त समूह गठन गरेको दावी गरिए पनि गतिविधि भने उग्रवादी देखिन्छ । कतिपयले तिमिल्सिनाको गतिविधिलाई अराजकताको पराकाष्ठ भनेका छन् भने केहीले पक्राउ गर्न माग गरेको देखिन्छ ।
तिमिल्सिना विगतदेखि नै यस्तै उग्रताका लागि चिनिँदै आएका व्यक्ति हुन् । सर्वोच्च अदालतका न्यायाधीश घुस लेनदेनमा संलग्न रहेको दावीसहित पहिले रवि लामिछानेले चलाउने कार्यक्रम 'सिधा कुरा' लाई 'फेक अडियो' उपलब्ध गराएको प्रकरणमा उनी अदालतबाट दोषी ठहर भएका थिए ।
टिप्पणीहरू