विशेषको फैसलामा अख्तियार असन्तुष्ट
विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च पुगेको छ । विशेषबाट विभिन्न मितिमा भएका फैसलामध्ये दुई वटामा चित्त नबुझेपछि आयोगले आज सर्वोच्चमा पुनरावेदन गरेको हो ।
सार्वजनिक सम्पत्ति हानिनोक्सानी र गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको सम्बन्धी मुद्दामा पुनरावेदन गरिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार जिन्सी सामानमा ६० लाख ८८ हजार बढी भ्रष्टाचार गरेको आरोपमा नेपाल विद्युत प्राधिकरण, वितरण तथा ग्राहक सेवा इटहरी वितरण केन्द्रका वरिष्ठ सहायक (स्टोर किपर) अर्जुनकुमार कटुवालसहित पाँच जनाउपर मुद्दा चलाएको थियो । तर, विशेष अदालतले गत जेठ १९ गते प्रतिवादीहरूलाई विभागीय कारबाहीसम्म हुने ठहर गरी आरोपबाट सफाइ दियो ।
यस्तै, गैरकानूनी रुपमा साढे तीन करोड रुपैयाँ बढी सम्पत्ति आर्जन गरेको भन्दै जलस्रोत तथा सिंचाई विभागका तत्कालिन महानिर्देशक मधुकर प्रसाद राजभण्डारीविरुद्ध मुद्दा चलेको थियो । विशेषको ०८१ असार २४ गतेको फैसलाबाट उनले पनि सफाइ पाए ।
दुवै फैसला त्रुटिपूर्ण रहेको जनाउँदै सर्वोच्च गुहारेको अख्तियारले प्रतिवादीहरूलाई आवश्यक सजायको माग गरेको छ ।
टिप्पणीहरू