ओलीको वयानबारे अरु नेताका कुरा बिभाजित
भदौ २३ को नरसंहारमा दोषी भनिएका तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली जाँचबुझ आयोगमा बयान दिन जान पर्छ कि पर्दैन भन्नेमा पार्टीको नेतृत्वपंक्ति दुई खेमामा विभाजित भैरहेका बेला कार्यकर्तामा पनि दुई धार देखिएको छ ।
एघारौँ राष्ट्रिय महाधिवेशनमा भाग लिन काठमाडौँ आइपुगेका केही प्रतिनिधिसँग यसबारे धारणा माग्दा प्रष्ट पक्ष-विपक्षमा देखिए । ओलीलाई आयोगले बयानका लागि बोलाउने तयारी गरिराखेका बखत आज दिउँसो च्यासलमा भेटिएका प्रतिनिधिले राज्यको कानुनलाई मान्ने कि आफूलाई त्यसभन्दा माथि राख्ने भन्ने तर्क गरेका थिए ।
पूर्वसांसद तथा सुदूरपश्चिमका नेता झपट रावलले आयोगमा बयान दिन जान हिच्किचाउन नहुनेमा जोड दिए । तर,त्यसै धारणाको खण्डन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले भने अध्यक्ष ओली आयोगमा उपस्थित नहुने बताए ।
पूर्व सांसद शान्ता चौधरीले जाँचबुझ आयोगका अध्यक्ष नै विवादित भएकाले आफ्ना अध्यक्ष बयान दिन जानुपर्छ भन्ने नलागेको बताइन् । महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङकी उनले यस्ता विवादित मान्छेसमक्ष बयान दिन जरुरी नपर्ने तर्क गरिन् ।
उता स्थायी समिति सदस्य डा. विन्दा पाण्डेले कानुनभन्दा माथि कोही पनि नहुने भएकाले बयान दिन जान्न भन्न नपाउने धारणा राखिन् । कि त आफू राज्य र कानुनभन्दा माथि छु भन्न सक्नुपर्ने उनको तर्क थियो ।
आयोग पूर्वाग्रही छ भन्ने आरोप छ नि भन्ने जिज्ञासामा पाण्डेको प्रतिक्रिया छ- उहाँ (गौरीबहादुर कार्की) अध्यक्ष हुनुहुन्छ,उहाँविरुद्धको मुद्दा अदालतमा विचाराधीन छ । त्यो किनारा नलाग्दासम्म कानुनत: उहाँ नै आयोगको अध्यक्ष हुनुहुन्छ भने हामी बहाना बनाएर बयान दिन जाँदैनौं भन्न मिल्छ र !
च्यासलमा जम्मा भएका केही प्रतिनिधिबीच तराई-मधेशका जिल्लामा पैसावाला व्याक्तिले लाखौँ रुपैयाँ खर्चिएर प्रतिनिधि चुनिएको गाइँगुइ पनि सुनियो । पर्साबाट प्रतिनिधित्व गर्ने पूर्वसांसद प्रभु हजारा पासवानले 'सर्वहाराको पार्टी' मा २० लाखसम्म पनि खर्च गरेर प्रतिनिधि बनेको अर्का एक जना महिला कमरेडलाई सुनाउँदै थिए ।
यसबारे थप पुष्ट्याई गर्न वीरगन्ज महानरपालिकका पूर्वमेयर तथा आसन्न महाधिवेशनमा केन्द्रीय सदस्यमा लड्ने तयारी गरिराखेका विजय सरावगीले धनीमानी मान्छेले त्यस्तो गरेको बताए । उनको संकेत धनाढ्य व्यापारी नसुरुद्दिन अन्सारीप्रति थियो ।
च्यासलमै भेटिएका स्थायी कमिटी सदस्य लालबाबु पण्डितले आफूले महाधिवेशनबाट 'अपग्रेटेड' हुने या राजनीतिबाट बिदा लिनेबाहेक तेस्रो विकल्प नसोचेको सुनाए । दशौँ महाधिवेशनमा पदाधिकारीको आकांक्षी रहेका उनी ओलीको लिष्टमा नपरेपछि रिसाउँदै सौराहाबाट हिँडेका थिए । तर, संयोग कस्तो भने भीम रावल,घनश्याम भुसाल र भीम आचार्यहरूले उम्मेदवारी मनोनयन गरेपछि चुनाव भयो र रघुवीर महासेठले सचिव जिते ।
टिप्पणीहरू