रुपन्देही काँग्रेसमा ‘पुरानै अनुहारको एकलौटी’

रुपन्देही काँग्रेसमा ‘पुरानै अनुहारको एकलौटी’

नेपाली काँग्रेसले आगामी निर्वाचनका लागि रुपन्देहीबाट यसअघि सांसद तथा मन्त्री बनेका नेताहरूकै नाम एक नम्बरमा राखेर सिफारिश गरेपछि स्थानीय पार्टी पंक्तिमा तीव्र असन्तुष्टि सुरु भएको छ। क्षेत्रीय समितीले पटक–पटक मन्त्री तथा सांसद भइसकेकाहरुलाई नै पहिलो नम्बरको उम्मेदवारका रूपमा सिफारिश गरेको छ ।

गत निर्वाचनमा माओवादी र लोसपाको समर्थन पाउँदा पनि पराजित नेताहरू यतिबेला पुनः पहिलो नम्बरमा सिफारिस भएका हुन् । उनीहरू केन्द्रको जोडबलका कारण एक नम्बरमा परेको स्थानीय नेतृत्वको आरोप छ।

रुपन्देहीका पाँचवटै क्षेत्रमध्ये क्षेत्र नम्बर १ मा अब्दुल रज्जाक, क्षेत्र नम्बर २ मा युवराज गिरी, क्षेत्र नम्बर ३ मा बालकृष्ण खाण, क्षेत्र नम्बर ४ मा प्रमोदकुमार यादव र क्षेत्र नम्बर ५ मा भरतकुमार शाहको नाम पहिलो नम्बरमा सिफारिस गरिएको छ।

रुपन्देही–१ बाट संघीय सांसद र यसअघि खानेपानी तथा सरसफाइ राज्यमन्त्रीसमेत बनेका रज्जाक हाल लुम्बिनी प्रदेश सभाका वहालवाला सदस्य हुन्। उमेरले ६० कटेकाले स्वास्थ्य समस्या र नयाँ पुस्ताको बढ्दो दबाबले यसपटक उनीप्रति समय प्रतिकूल देखिएको स्थानीयहरू बताउँछन्। गत निर्वाचनमा उनले प्रतिनिधिसभा उम्मेदवारी छाडेर प्रदेशसभा लडेका थिए।

क्षेत्र नम्बर २ का युवराज गिरी पटक–पटक टिकट पाएर एमाले उपाध्यक्ष विष्णु पौडेलसँग पराजित हुँदै आएका नेता हुन्। उनलाई पनि यसपटकको निर्वाचन सहज देखिँदैन । 

क्षेत्र नम्बर ३ का बालकृष्ण खाण पटक–पटक मन्त्रीसमेत भइसकेका व्यक्तित्व हुन्। नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाएको अभियोगमा पक्राउ परेका उनी सोही मुद्दामा जेलबाहिरै बसेर कानुनी उपचार खोजिरहेका छन्। सोही मुद्दामा एमाले नेता टोपबहादुर रायमाझी, पूर्व गृहसचिवलगायत थुप्रै व्यक्ति जेल जीवन बिताइरहँदा खाण भने बाहिर छन्। गृहमन्त्री रहँदा सम्पूर्ण शक्ति प्रयोग गर्दा पनि उनी राप्रपाका दीपक बोहरासँग पराजित भएका थिए। 

क्षेत्र नम्बर ४ का प्रमोद कुमार यादव गत निर्वाचनमा लोसपाका सर्वेन्द्रनाथ शुक्लासँग पराजित भएका हुन् । तर लगातार क्षेत्रमै सक्रिय रहँदै आएका हुँदा यसपटक उनीप्रति वातावरण केही सहज देखिएको बताइन्छ । 

क्षेत्र नम्बर ५ का भरत कुमार शाहविरुद्ध पार्टीकै स्थानीय नेताहरू उजुरी लिएर कार्यालय पुगेका छन्। शाह पक्षधरले थाहै नदिई सिफारिश गरिएको आरोप लगाउँदै जिल्ला समितिमा उजुरी दर्ता भएको छ। शाहले बारम्बार सांसद भइसकेका र आफ्नी श्रीमतीलाई योजना आयोग सदस्य तथा पार्टी उपसभापति बनाएको कारण तीव्र आलोचना खेप्नुपरेको थियो। गत निर्वाचनमा एमालेका वासुदेव घिमिरेसँग पराजित भएका शाहका लागि यसपटक पनि समय प्रतिकूल देखिन्छ।

रुपन्देहीका पाँचै क्षेत्रीय समितिको सिफारिस हेर्दा केन्द्रले पुरानै नाम तोकेर पठाएझैँ देखिन्छ। नयाँ नेताहरूलाई पाँचौँ र छैटौँ नम्बरमा मात्र राखेर झारा टारिएको स्थानीय कार्यकर्ताको आरोप छ।

एकजना काँग्रेसी कार्यकर्ताले जनआस्थासँगको कुराकानीमा भने, ‘०६४ सालमा जो उम्मेदवार थिए, अहिले पनि त्यही नाम पठाइयो भने कांग्रेस कसरी बलियो हुन्छ ? भरत शाह, बालकृष्ण खाण र अब्दुल रज्जाकले अब पार्टीको अभिभावकत्व ग्रहण गर्नु पर्छ। उनीहरूले उम्मेदवार हुनु हुँदैन।’

रुपन्देहीका कार्यकर्ताहरूले खाण र शाहले पार्टीलाई ‘परिवार क्लब’ बनाएको आरोप लगाउँदै आएका छन्। खाणले आफ्नै श्रीमती मञ्जु भुसाललाई समानुपातिक सांसद बनाएको, शाहले आफ्नी श्रीमती अनिता शाहलाई समानुपातिकमा सिफारिस गरेको र पछि उनलाई राष्ट्रिय योजना आयोग सदस्य बनाएको स्थानीय नेताहरूको आरोप छ।

यसरी समानुपातिक र राजनीतिक नियुक्तिमा समेत परिवारका सदस्यलाई प्राथमिकता दिएको कारण रुपन्देही कांग्रेसभित्र पुनः ठूलो असन्तुष्टि उत्पन्न भएको हो ।

टिप्पणीहरू