ठेकेदारको बेइमानी, स्थानीयलाई हैरानी

ठेकेदारको बेइमानी, स्थानीयलाई हैरानी

काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकको सीमाना चेहेरेस्थित सुनकोशी नदीमा पाँच वर्षअघि निर्माण थालिएको पुल अलपत्र परेको छ । दुई जिल्लाका कोशीपूर्वस्थित ठाउँलाई सडक सञ्जालसँग जोड्ने सो मोटरेबल पक्की पुल बन्न नपाउँदै जीर्ण अवस्थामा पुगेको छ ।

निर्माण व्यवसायीको लापरबाहीका कारण पुल वर्षौदेखि अलपत्र छ भने स्थानीयबासिन्दा ज्यानै दाउमा राखेर झोलुङ्गे पुल तर्न बाध्य छन् । अर्कोतर्फ, पुल नबन्दा यातायात जानसक्ने सडकमा समेत घण्टौं वा दिनभर हिँडेर पुग्नुपर्ने बाध्यता छ ।

काभ्रेको भुम्लु गाउँपालिका र सिन्धुपाल्चोकका विभिन्न वडालाई सडक सञ्जालसँग जोड्न २०७७ भदौ १० गते सडक विभागले चेहेरेमा पुल निर्माण अघि बढाएको थियो । यो पुल बनाउन १५ करोड १८ लाख २५ हजार लाग्ने अनुमान गरिएको थियो ।

तर, लागत भ्याटसहित ११ करोड सात लाख ४२ हजार दुई सय रुपैयाँमा अमर कन्स्ट्रक्सनलाई पुल निर्माणको ठेक्का दिइएको हो । सम्झौताअनुसार २०८० जेठ ९ गतेभित्र पुल बनिसक्नुपर्ने थियो । तर, निर्माण व्यवसायीले विभिन्न बहाना बनाउँदै काममा आलटाल गर्दा पाँच वर्षदेखि पुल अलपत्र अवस्थामा छ ।

निर्माण थालिएको पाँच वर्ष बितिसक्दासमेत पुलमा हालसम्म तीन वटा पिल्लर र एक साइडमा स्पान मात्र बनेको छ । त्यो पिल्लर र स्पान पनि वर्षायाममा नदीको बहाव बढी बाढी आएमा जुनसुकै बेला भत्किनसक्ने जोखिम छ ।

पाँच वर्षमा ६५ प्रतिशत काम

सडक विभागका अनुसार हालसम्म पुलको भौतिक प्रगति ६५ प्रतिशतमात्र छ । त्यस्तै, निर्माण व्यवसायीलाई पाँच करोड ७१ लाख ६६ हजार रुपैयाँ भुक्तानी गरिएको छ ।

शुरुको सम्झौता मितिमा पुल निर्माण नभएपछि विभागले पटकपटक म्याद थप गरिसकेको छ । पछिल्लो पटक २०८३ वैशाख २० गतेसम्मका लागि थप म्याद गरिएको विभागको भनाइ छ ।

१५ देखि २० किलोमिटर हिँड्न बाध्य छन् स्थानीय

चेहेरे पुल नबन्दा काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर १ सापिङ, वडा नम्बर २ सिम्थली, वडा नम्बर ३ बेखसिम्ले, वडा नम्बर ४ चौवास, वडा नम्बर ५ सल्लेसहित सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नम्बर १ र २ ठोकर्पा, वडा नम्बर ३ कालिका, वडा नम्बर ४, यमुनाडाँडालगायतका बासिन्दा जोखिमयुक्त र कठिन यात्रा गर्न बाध्य भइरहेका छन् ।

पुल नबनेकै कारण एकातिर ज्यानै जोखिममा राखेर झोलुङ्गे पुल तर्नुपर्ने स्थिति छ भने अर्कोतिर चेहेरेबाट २० किलोमिटरसम्म हिँडेर आफ्नो थातथलो पुग्नपर्ने उनीहरुको बाध्यता छ । चेहेरेबाट क्युको गाडी चल्नेगरी बाटो बनेपनि पक्की पुल नभएकै कारण दिनभर हिँड्नुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ ।

भुम्लु–२, सिम्थलीका स्थानीय अर्जुन थापा चेहेरे पुल नबन्दा सास्तीसँगै विकास निर्माणमा समेत पछाडि परेको गुनासो गर्छन् । आपतविपत परी गाउँबाट काठमाडौं आउनुपरेमा वा काठमाडौंबाट गाउँ फर्किनुपरेमा चेहेरेदेखि झण्डै पाँच–सात घण्टाको बाटो हिँड्नुपर्ने बाध्यता रहेको उनी सुनाउँछन् ।

‘काठमाडौं जाने गाडी त चल्छ । तर, साताको पाँच दिनमात्र चल्छ । त्यो पनि बिहानै । त्यसैले, कहिलेकाँही आपत परी काठमाडौं आउनुपरेमा वा काठमाडौंबाट गाउँ जानुपरेमा चेहेरेदेखि हिँड्नुपर्ने बाध्यता छ,’ थापाले भने, ‘यदि चेहेरेको पक्की पुल बनेको भए त्यँहीबाट गाडी आउजाउ गथ्र्यो । हिँडिरहनुपर्ने थिएन ।’

पुल नबनेकै कारण विकास निर्माणमा समेत भुम्लु गाउँपालिका पछि परेको उनको ठम्याई छ । भने, ‘गाउँमा केही पनि सामान पाइँदैन । काठमाडौंदेखि बोकेर लैजानुपर्छ । गाडी गुड्ने बाटो जोखिमयुक्त र भाडा पनि निकै महँगो भएकाले सामान लैजान सम्भव छैन । अनि गाडी सजिलै जानसक्ने बाटोमा चाँहि पुल नै बनेको छैन । यसले हामी विकासमा पनि पछि पर्यौं ।’

सुनकोशी–१, ठोकर्पाका स्थानीय नविन बस्नेतले चेहेरे पुल नबन्दा स्थानीय नागरिक मारमा परेको भन्दै पुल निर्माणमा भएको ढिलासुस्तीप्रति आक्रोश व्यक्त गरेका छन् । ‘एकातर्फ बर्खायाममा नदीको बहाव बढ्दा ज्यानै दाउमा राखेर झोलुङ्गे पुल तर्नुपर्ने बाध्यता छ, अर्कोतर्फ गाडी जानसक्ने बाटोमा घण्टौं हिँड्नुपर्छ,’ उनले भने ।  

सरकारले ठेकेदारलाई कारबाही गरी पुल निर्माणको कार्यलाई तीव्र बनाउनुपर्ने बस्नतेको माग छ । ‘पुल बनाउन नसक्ने कम्पनीले ठेक्का किन लिनु रु अनि सरकारले पनि तोकिएको समयभित्र पुल नबनाउँदा पनि कारबाही किन नगरेको,’ उनको प्रश्न छ ।

यस्तै, सिम्थलीका अर्का स्थानीय प्रेमबहादुर थापा पनि पुल अलपत्र छोड्ने निर्माण व्यवसायीलाई कारबाहीको माग गर्छन् । ठेकेदारका कारण हजारौं नागरिकले दुःख पाइरहेको उनको ठम्याई छ । सडक बनेको डेढ दशकसम्म पनि पुल नबन्नु दुर्भाग्यपूर्ण भएको उनले बताए ।

‘एउटाका कारण साराले दुःख पाइरहेका छन् । आपतविपत पर्दा हिँडेर आउजाउ गर्नुपर्ने वा निजी गाडी ९दुई पाङ्ग्रे० लाई चर्को भाडा तिर्नुपर्ने बाध्यता छ । सडक हुँदापनि हामीले कहिलेसम्म यसरी यात्रा गरिरहनुपर्ने रु,’ थापाले भने, ‘सरकारले कि त पुल निर्माणको काम तीव्र बनाउनुपर्छ होइन भने ठेकेदारलाई कारबाही गर्नुपर्छ ।’ उनका अनुसार चेहेरेको सडक २०६५ सालमा खनिएको हो ।

सडक बनेको १७ वर्ष बितिसक्दासमेत पुल नभएकै कारण त्यहाँ गाडी गुड्न नसकेको थापाको भनाइ छ । ‘स्थानीयको निकै जोडबलपछि बल्लतल्ल सडक खनियो । तर, अहिलेपनि हिँडेरै आफ्नो गाउँ पुग्नुपर्ने बाध्यता छ । आखिर दुर्गममा कहिलेसम्म यस्तो विभेद रु कहिले बजेट नदिने त कहिले बजेट दिए काम नगर्ने रु,’ उनले प्रश्न गरे ।  

चेहेरेको पुल बनेमा क्युको गाडी चल्ने र भाडा पनि सस्तो हुने थापा बताउँछन् । ‘अहिले मंगलबार र शुक्रबार काठमाडौं आउने गाडी चल्दैन । त्यो दिन गाउँ आउनु परेमा चेहेरेदेखि हिँड्नुपर्छ । चेहेरेको पुल बने क्युको गाडी चल्थ्यो । अहिलेजस्तो भाडा पनि चर्को तिर्नुपर्दैन्थ्यो,’ उनले भने ।

सँगै सापिङ, सिम्थली, बेखसिम्ले, चौवास, सल्ले, ठोकर्पा, कालिका, यमुनाडाँडालगायतका स्थानीयलाई आम्दानीको स्रोत खोलिने बताए । ‘अहिले गाउँमा उब्जिएका खाद्यान्न, तरकारी, फलफूल कुहाएर फाल्नुपर्ने अवस्था छ । पुल बनेमा ती सामग्री गाडीबाट चेहेरे हुँदै दोलाघाट वा काठमाडौं ल्याएर बेच्न सकिन्थ्यो । यहाँको स्थानीयको आम्दानी हुन्थ्यो,’ थापाले भने ।

वैशाखसम्म पुल बन्छः सडक विभाग

चेहेरे पुल आउँदो वैशाखसम्ममा निर्माण हुने सडक विभागले जनाएको छ । विभागअन्तर्गत पुल महाशाखा प्रमुख ललिजन खनाल सम्बन्धित निर्माण व्यवसायीले ०८३ वैशाख मसान्तभित्र पुल निर्माण सम्पन्न गरिसक्ने प्रतिबद्धता जनाएको बताउँछन् ।

उनका अनुसार निर्माण सामग्रीको अभाव, बाढी, पहिरो तथा ठेकेदार र सरोकारवालाबीच समन्वय नहुँदा पुल निर्माणमा ढिलाई भएको हो । अहिले ती सबै समस्या समाधान भइसकेको र तत्काल काम अघि बढाइने खनालको भनाइ छ ।

‘यो समय काम गर्ने सिजन पनि हो,’ उनले भने, ‘सम्बन्धित निर्माण कम्पनीले वैशाखसम्म लगातार काम गरेर पुल बनाउँछौं भन्नुभएको छ ।’ सो अवधिमा पनि पुल निर्माण नभए ठेकेदारलाई कारबाही गर्ने उनले बताए ।

टिप्पणीहरू