ध्वस्त झापाली धरातल र मस्त गुण्डु कुटी
वर्तमान एमालेको जग झापा विद्रोह हो । त्यही जगबाट उठेको ऊ यतिबेला एघारौँ महाधिवेशनको संघारमा छ । र, केपी ओली अध्यक्षमा तेहेरिने तयारीमा छन् । देशकै अस्तित्व जोगाउन नेतृत्वमा आफ्नो अनिवार्यता पुष्टि गर्न खोजिरहेका उनै ओली झापा विद्रोहको अस्तित्व रक्षाका सवालमा भने निरन्तर चुकिरहेका छन् ।
नेपालको कम्युनिष्ट आन्दोलनमा झापा विद्रोहको ऐतिहासिक महत्वबारे चर्चा गर्नै परेन । झापाली क्रान्तिकारी युवाहरूले सामन्तलाई सफाया गर्ने अभियानअन्तर्गत २०२८ देखि ०३२ सालसम्म चलाएको वर्ग संघर्षको उत्कर्ष थियो त्यो । योसँग जोडिएर आउने पात्र हुन्, ओली । यही आन्दोलनका क्रममा १४ वर्ष जेल बसेका उनले यसलाई गौरवको रूपमा लिने गरेका छन् ।
तत्कालीन पञ्चायती शासकले चर्को दमन गरेपछि सिपी मैनालीहरू पक्राउ परे । धमाधम नेताहरू समातिँदै जाँदा ओलीलाई जिल्ला कमिटी सचिव बनाइयो । राधाकृष्ण मैनालीका अनुसार कुराचाहिँ ठुल्ठूला गर्ने तर जिम्मेवारी नलिने डरपोक स्वभावका उनलाई अनिच्छाका बाबजुद सचिवको जिम्मा दिइएको थियो । तर, ओली ज्यान जोगाउन भागेर भारतको नैनीतालतिर गए र पछि मोहनचन्द्र अधिकारीसँगै फर्किने क्रममा रौतहटको उखुबारीमा भोकभोकै लुकेर बसिरहेको अवस्थामा समातिए । प्रहरीले एक थप्पड लाउनेबित्तिकै ओलीले आफ्नो परिचय खोलिदिएको मोहनचन्द्रले बताउने गरेका छन् । जबकि त्यतिबेला आन्दोलनमा लागेका कम्युनिष्ट नेता–कार्यकर्ताले बरू मृत्यु रोज्ने तर गोप्यता नखोल्ने कसम खाएका हुन्थे।
नेपालको नेल्सन मण्डेला भनेर चिनिने मोहनचन्द्र आफैँ ओलीभन्दा दुई वर्ष बढी अर्थात् १६ वर्ष जेलजीवन बिताएका झापा विद्रोहका संस्थापक नेता हुन् । जीवनको ऊर्जाशील समय वाम आन्दोलनमा बिताएका उनी केही वर्षदेखि मूलधारको राजनीतिबाट ओझेलमा छन् । एमालेको दशौँ महाधिवेशनपछि झापा आन्दोलनका अन्य संस्थापक नेता नरेश खरेल, मनकुमार गौतमहरूजस्तै उनी पनि पाखा पारिए ।
०२९ साल फागुन २१ गते झापा आन्दोलनका पाँच नेता नेत्र घिमिरे, रामनाथ दाहाल, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठको क्रुरतापूर्वक हत्या भयो । झापाबाट इलाम जेल सरुवा गर्ने नाममा तत्कालीन शासकले सुखानीको जंगलमा लगेर उनीहरूलाई गोली हानी मारेको थियो । नेपाली कम्युनिष्ट आन्दोलनमा फागुन २१ लाई विशेष दिनका रूपमा लिने गरिन्छ । केही वर्षअघिसम्म एमालेले संस्थागतरूपमै विभिन्न कार्यक्रम गरी हत्याकाण्डमा मारिएकाहरूको स्मरण गर्ने गरेको थियो । पछि माओवादीले शहीद सप्ताह मनाउन थाल्यो । भूमिगत काममा तत्कालीन मालेका कार्यकर्ताले ‘आलै छ रगत मुटुमा २१ फागुन भुल्दैनौँ, क्रान्तिको बाटो पहिल्याउने कृष्ण र नेत्रलाई भुल्दैनौं’ बोलको गीत गाउँथे ।
तर, पछिल्लो समय भने झापा विद्रोहका शहीदहरूलाई एमालेले बिस्तारै बिर्संदैछ । कतिसम्म भने कार्यकर्ताबाट पैसा उठाएर गुण्डुमा ‘ओली कुटी’ बनाउन सक्ने ओलीले शहीद रामनाथ दाहालको घर वर्षौँदेखि जीर्ण अवस्थामा रहँदासमेत कुनै चासो देखाएनन् । कम्युनिष्ट विचारमा आस्था राख्नेहरूका लागि पाठशालाको रूपमा रहेको झापाको बिर्तामोड–२ रातमाटेस्थित यो घर मक्किएर ढल्ने अवस्थामा पुगेको छ । वाम आन्दोलनको धरोहर मानिने यही घर हो, जहाँ ओलीले बाल्यकाल बिताएका थिए । दाहालको नातेदारसमेत रहेका उनी त्यही घरमा हुर्किएका हुन् । त्यहीँ बसेर ८ कक्षासम्म पढेका थिए ।
तर, तीन पटकसम्म देशको कार्यकारी प्रमुख र पार्टी अध्यक्ष बनेका ओलीको प्राथमिकतामा यो घर संरक्षण गर्ने कुरा परेन । सुखानीको जंगलमा मारिएका अर्का शहीद वीरेन राजवंशीको शालिक पनि जेनजी आन्दोलनका क्रममा ध्वस्त पारिएको छ । यसमा पनि ओलीले सान्त्वनाका शब्द बोलेको सुनिएको छैन ।
शहीदलाई सम्झन छोडेको एमालेमा झापा आन्दोलनका जीवित अगुवाहरू पनि अधिकांश गुमनाम छन् । मोहनचन्द्र, झलनाथ खनाल, घनेन्द्र बस्नेतजस्ता नेताहरू एमालेबाट बाहिरिइएका छन् भने मनकुमार तामाङ, दुर्गा अधिकारी, अम्मर अधिकारी, मनकुमार गौतमहरू दुःख पाएर बसेका छन्् । ओलीको पेलान सहेर पनि पार्टी नछोडी बसेका नरेश खरेलहरूलाई दशौँ महाधिवेशनपछि अपमानजनक ढंगले पाखा लगाइयो । विद्रोहको उर्वर भूमि झापा जिल्लाका अरू थुप्रै पुराना नेताहरू कहाँ छन्, अत्तोपत्तो छैन ।
यसरी अगुवा नेताहरू दूधको झिँगाझैँ मिल्काइँदा अध्यक्ष ओली भने पार्टीमा झन् शक्तिशाली बन्दै गएका छन् । ताप्लेजुङको जन्मघर होस् या राजनीतिमा तरक्की गरेपछि बनेको बालकोटको घर– आफ्नै नाममा प्रतिष्ठान खोलेर मृत्युपछि पनि संरक्षणको ज्ञारेण्टी गराएका उनले अब गुण्डुमा ‘ओली कुटी’ बनाउँदै छन् ।
गुण्डुमा ओली कुटी बन्न लागिरहँदा रामनाथ दाहालको घर संरक्षण हुनुपर्छ कि पर्दैन ? ताप्लेजुङ्गको आफ्नो घरलाई ऐतिहासिक संग्रहालयजस्तो बनाउन सक्नेले शहीदको घर संरक्षण गर्न किन नचाहेको ? एमालेका इमान्दार नेता–कार्यकर्ताले प्रश्न गर्नुपर्ने भएको छ । वाम आन्दोलनको ऐतिहासिक केन्द्र लोप हुने अवस्थामा पुग्दै गर्दा ताप्लेजुङस्थित ओलीको घर भने आङ छिरिङहरूलाई प्रयोग गरेर संरक्षण गरिएको छ । त्यही घर हेर्दै पाथीभरा पुगेर फर्किने क्रममा रवीन्द्र अधिकारी हेलिकप्टर दुर्घटनामा परेका हुन् । २०७६ सालमा ओलीले काठमाडौँबाट हेलिकप्टरमा केक ओसारेर यही घरमा बर्थडे मनाएका थिए ।
नीति र नेतृत्वबारे बहस गर्ने थलो महाधिवेशनको पूर्वसन्ध्यामा एमालेका नेता–कार्यकर्तालाई प्रश्न– कमरेडहरू, यस्तो कुराले वैचारिक स्खलन देखाउँदैन र ? रामनाथ दाहालको जीर्ण घरले ओली कमरेडलाई गिज्याउँछ कि गिज्याउँदैन होला ?
(जनआस्था साप्ताहिकको मंसिर २४ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू