आन्दोलन र जनमत संग्रहबाट राजा ल्याउन नहुने राप्रपाको ठहर

आन्दोलन र जनमत संग्रहबाट राजा ल्याउन नहुने राप्रपाको ठहर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जेनजीको माग सम्बोधन र राजनीतिक समस्या समाधानबिना आम निर्वाचनमा जान नहुने निष्कर्ष निकालेको छ । यही संविधान र संवैधानिक व्यवस्थाबाट अघि बढ्न खोजिए मुलुक थप द्धन्द्धमा धकेलिने दाबी राप्रपाको छ । 

तीन दिनसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकको निर्णय विज्ञप्तिमार्फत सार्वजनिक गर्दै भनेको छ, ‘अब यही असफल संविधान र संवैधानिक व्यवस्थाबाट मुलुकलाई जबरजस्तीअगाडि बढाउने कोसिस गर्नु, राजनीतिक समस्याको समाधान नगरिकन र जेनजीको माग सम्बोधन नगरी आम निर्वाचनमा जानु भनेको मुलुकलाई थप द्धन्द्धमा धकेल्नु हो भन्ने राप्रपाको ठहर छ ।' 

जेनजी आन्दोलनले वर्तमान संविधान र संवैधानिक व्यवस्था ल्याउने र पछ्याउने नेता र दलसमेत असफल सावित भएको राप्रपाको जिकिर छ । चुनावअगावै राजा, राजनीतिक दल र जेनजीबीच त्रिपक्षीय सम्झौता हुनुपर्नेमा जोड दिएको छ । 

‘आम निर्वाचनअगावै परम्परागत शक्तिको प्रतिनिधि राजा, राजनीतिक दल र जेनजीबीच २००७ सालको परिवर्तनको मुख्य उपलब्धि प्रजातन्त्र, ०४६ सालको बहुदलीय व्यवस्था, ०६२–०६३ को समावेशी र समानुपातिकताको रक्षा गर्दै नवीन समझदारीको बाटोबाट राष्ट्रिय सहमति निर्माण गरी कसैले नहार्ने देशले जित्ने मौलिक व्यवस्था निर्माण गरी नेपालको निर्णायकत्व नेपाली जनताकै हातमा राख्ने कार्यमा हामी कसैले ढिला गर्नुहुँदैन’, उसले भनेको छ । 

राप्रपाले राजसंस्थाको पुनःस्थापना जनमत संग्रह र रक्तपातको बाटोबाट नभई राष्ट्रिय सहमतिबाट हुनुपर्ने पनि प्रष्ट पारेको छ । साझा संस्थाहरुलाई अल्पमत बहुमतबाट निर्णय गर्दा झन् जटिलाता पैदा गर्ने खतरा उसले देखाएको छ ।

'अल्पमतले सधैं बहुमत प्राप्त गर्ने प्रयत्न गरिराख्छ, त्यसले अस्थिरता र द्धन्द्धलाई झनै बल प्रदान गर्छ', विज्ञप्तिमा भनिएको छ, 'त्यसैले, राजसंस्था जनमत संग्रहबाट होइन सहमतिबाटै पुनःस्थापित हुनुपर्छ भन्ने राप्रपाको स्पष्ट धारणा छ ।'  

राप्रपाले पुस महिनामा देशभर जनसंवाद र जनप्रदर्शनका कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, आउँदो फागुनमा हुने निर्वाचनमा सहभागी हुने र त्यसका निम्ति प्रक्रियामा अघि बढ्न पार्टीपंक्तिलाई निर्देश गरेको छ । 

पोखरा क्षेत्रीय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारमा अख्तियारले देखाएको सक्रियता स्वागतयोग्य रहेको बताएको छ । यस सम्बन्धमा बाँकी रहेकासहित भ्रष्टाचारका अन्य विचाराधीन प्रकरणबारे पनि छानबिन अघि बढाउन आग्रह गरेको छ । 

सरकार र जेनजीबीच हालै भएको सहमतिमा जेनजी समूहकै मतैक्य देखिएकोले त्यो अपुरो रहेको राप्रपाको ठहर छ । विदेशमा रहेका नेपालीलाई विदेशबाटै र स्वदेशमै पनि अन्तरजिल्लाबाट मतदानको व्यवस्था आगामी चुनावमै सम्भव रहेकोले त्यसको प्रक्रिया अघि बढाउन पनि माग गरेको छ ।

टिप्पणीहरू