औषधि व्यवस्था विभागको आँगनमा व्यवसायी आन्दोलित

औषधि व्यवस्था विभागको आँगनमा व्यवसायी आन्दोलित

औषधि ऐनमा भएको पछिल्लो संशोधनप्रति असन्तुष्ट औषधि व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । उनीहरूले आज काठमाडौँमा विरोध प्रदर्शन गरे । 

औषधि व्यवसायी संघका महासचिव श्रीधर खनालको नेतृत्वमा व्यवसायीहरूले बिहान बिजुलीबजारस्थित विभागको प्राङ्गणमा धर्ना दिएका हुन् । झण्डै पाँच दर्जनको संख्यामा रहेका प्रदर्शनकारीले 'हाम्रो जायज माग पूरा गर', 'औषधि ऐन २०३५ को दफा ११ उपदफा ५ खारेज गर' लेखिएका प्लेकार्ड देखाएका थिए ।

सो दफामा औषधि व्यवसाय म्याद सकिनुअगावै नवीकरण नगरिए शतप्रतिशत जरिवाना लाग्ने र ३१ औं दिनमा इजाजतपत्र वा प्रमाणपत्र स्वतः रद्द हुने व्यवस्था छ । त्यसले व्यवसायीलाई अनावश्यक दबाबमा पारेको उनीहरूको भनाइ छ ।

व्यवसायीहरूले मङ्सिर २ गते विभागका महानिर्देशक नारायण प्रसाद ढाकाललाई ध्यानाकर्षण पत्र बुझाउँदै माग सम्बोधन नभए आन्दोलनमा उत्रने चेतावनी दिएका थिए । पूर्वघोषित कार्यक्रमअन्तर्गत आज मध्यान्ह १२ बजेसम्म शान्तिपूर्ण धर्ना दिएका उनीहरूले १६ गतेभित्र पनि माग पूरा नभए प्रत्येक दिन एक घन्टा थप्दै जाने बताएका छन् ।

टिप्पणीहरू