प्रहरीहरुले दूरसञ्चारबाट पाउने छुट

प्रहरीहरुले दूरसञ्चारबाट पाउने छुट

नेपाल प्रहरीमा कार्यरत कर्मचारीले ‘कर्पोरेट युजर ग्रुप (सियुजी)’ अन्तर्गत विभिन्न सुविधा पाउने भएका छन् । प्रहरी मुख्यालयले सबै नेटमा प्रयोग गर्न मिल्नेगरी विभिन्न प्याकेज उपलब्ध गराएको हो । जसअन्तर्गत भ्वाइस कल,डेटा, एसएमएस,अनलिमिटेड कललगायतका सुविधा रहेको छ । 

प्रिपेड सिम भएका प्रहरीले १८६ रुपैयाँ ४५ पैसामा ११० मीनेट भ्वाइस कल गर्न सक्नेछन् । त्यस्तै,पोस्टपेडअन्तर्गत १५० रुपैयाँमा ३.५ जीबी डेटा र ६० एसएमएस गर्न सकिन्छ । तीन सय मीनेट कलका लागि २८९ रुपैयाँ शुल्क तोकिएको छ । त्यसमै ६ जीबी डेटा र एक सय एसएमएसको सुविधा पनि छ । 

प्रिपेडतर्फ ३५७ रुपैयाँमा चार सय मीनेट कल,चार जीबी डेटा र दुई सय एसएमएस गर्न सकिने मुख्यालयले जनाएको छ । पाँच सय रुपैयाँमा सात सय मीनेट कल, ६ जीबी डेटा र तीन सय एसएमएसको सुविधा छ । 

सात सय रुपैयाँमा अनलिमिटेड कल,१७ जीबी डेटा, ३५० एसएमएस, आठ सय रुपैयाँमा अन लिमिटेड कल, ३५ जीबी डेटा, चार सय एसएमएस, एक हजार रुपैयाँमा अनलिमिटेड कल, ६५ जीबी डेटा, पाँच सय एसएमएस र एक हजार पाँच सय रुपैयाँमा अनलिमिटेड कलसहित ११० जीबी डेटा, एक हजार एसएमएसको सुविधा रहेको छ । 

सबै प्याकेजमा सियुजी टु सियुजी कल अनलिमिटेड हुने र उपलब्ध भ्वाइस कल र एसएमएसहरु सबै नेटमा प्रयोग गर्न मिल्ने मुख्यालयले स्पष्ट पारेको छ । सियुजी सेवाका लागि टेलिकम र प्रहरीबीच २०६८ असोज १० गते सम्झौता भएको थियो । प्रहरीले हालसम्म सो सेवा प्रयोग गर्दै आएको छ । प्रहरी कर्मचारीहरुलाई सुलभ, सहज, विश्वसनीय,भरपर्दो र गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउनका लागि सो सेवा प्रयोगमा ल्याइएको हो ।

टिप्पणीहरू