ओलीको दाबी : मुलुक चलाउने कांग्रेस र एमाले
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारलाई ‘सूर्यग्रहण’ को संज्ञा दिएका छन् । आज काठमाडौँमा आयोजित ‘सम्पादकहरूसँग संवाद’ कार्यक्रममा बोल्दै उनले सूर्यग्रहण चाँडै हट्ने दावीसमेत गरे ।
फागुन २१ गते तोकिएको चुनावअघि नै संसद पुनःस्थापना हुने ओलीको जिकिर छ । ‘हैसियत नै नभएको व्यक्तिको सिफारिसमा जुन बाटोबाट संसद विघटन गरियो, त्यही बाटोबाट पुनःस्थापना पनि गर्न सकिन्छ, त्यो बाटो नभए सर्वोच्चबाट गर्न सकिन्छ, त्यो हुन्छ नै, यसमा दुई मत छैन’, उनले दावाका साथ भने, ‘यो सरकार एकछिन लागेको सूर्यग्रहण जस्तै हो, चाँडै हट्छ, एकछिन आँधी तुफान चलेपछि वितण्डा मच्चाउँछ नि, त्यस्तै हो ।’
भदौ २४ गते युवा आन्दोलन थेग्न नसकेर बालुवाटारबाट भागेका ओलीले मुलुकको नेतृत्व एमाले र कांग्रेसको मात्रै गर्नसक्ने पनि बताए । दुई दलबाहेक अरुसँग त्यो क्षमता नभएको उनको दावी छ ।
‘हिजोसम्म कांग्रेस र एमालेले नेतृत्व गर्दै आएका थिए, भोलि पनि चलाउने यिनीहरु नै हुन्’, ओलीले भने, ‘डेमोक्रेसी भनेकै यही हो, बरु यहाँ त डेढ सय दल खोलेर तमासा चलाइएको छ, सम्पत्ति लुकाउनुपर्यो राजनीतिमा, अपराध लुकाउनुपर्यो राजनीतिमा !’
ओलीले ठट्यौलीमा पारामा पत्रकारलाई पनि दल खोल्न सुझाव दिए । ‘यहाँ पत्रकारितामा असफल भइयो भने पनि दल खोल्ने प्रवृति छ, तपाईहरू कसैलाई राम्रो सम्पादक बन्न सकिन्न भन्ने लागेको छ भने दल खोले हुन्छ (हाँस्दै)’, उनले थपे ।
निर्वाचन आयोगमा दर्ता भएका १४१ दलबीच गठबन्धन गरेर सरकार बनाउन पनि ओलीको चुनौती छ । ‘१४३ पुग्यो भन्ने सुनेको छु, च्याउँ उम्रिएजसरी उम्रिएका छन्, न कुनै सिद्धान्त, न कुनै विचार, न नीति, के काम तिनको ?’, उनले दोहोर्याउँदै भने, ‘यो मुलुक कांग्रेस र एमालेले नै चलाउने हो, १४१ दल मिलेर चुनाव जिते हुन्छ नि ! आफ्नै सरकार बनाए हुन्छ, प्रतिस्पर्धा गर्न हामी दुई दल काफी छौँ ।’
टिप्पणीहरू