मानव अधिकार अयोग सदस्यद्वारा राजीनामा, आन्तरिक असहयोग प्रमुख कारण

मानव अधिकार अयोग सदस्यद्वारा राजीनामा, आन्तरिक असहयोग प्रमुख कारण

राष्ट्रिय मानव अधिकार आयोग नेपालका सदस्य लिली थापाले राजीनामा दिएकी छन् । उनले ‘आन्तरिक असहयोग र नेतृत्वहीनता’ को कारण राजीनामा दिएको अध्यक्षलाई प्रेषित गरेको पत्रमा उल्लेख गरेको बताइन्छ । 

अध्यक्ष तोपबहादुर मगरलाई बुझाएको पत्र र इमेलमा उनले आन्तरिक असहयोग, नेतृत्वको कमजोरी र प्रशासनिक अहंकारका कारण प्रभावकारी रूपमा काम गर्न नसकेको जनाउँदै राजीनामा दिएकी हुन् । सदस्य थापाले आफ्नो राजीनामा अध्यक्षले स्वीकार गरेलगत्तै लागू हुने व्यहोरा लेखेकी छन्।

आयोगमा नियुक्त भएपछि पूर्ण समर्पण, इमान्दारिता र संवैधानिक म्यान्डेटअनुसार काम गरेको थापाको दाबी छ । मानव अधिकार, संस्थागत विश्वसनीयता र सार्वजनिक उत्तरदायित्वलाई सधैँ प्राथमिकता दिए पनि आफ्ना निरन्तर प्रयासका बाबजुद सचिवालय र नेतृत्वबाट आवश्यक सहयोग नपाएको उनको भनाइ छ । 

‘सदस्यको भूमिकामा सफल हुन संस्थाभित्र समन्वय, आपसी सम्मान र ठोस सहयोग आवश्यक छ,‘ पत्रमा भनिएको छ, ‘तर निरन्तर असहयोग, प्रशासनिक अहंकार र आन्तरिक चुनौती समाधानमा नेतृत्वको सक्रियता नदेखिँदा आयोगको कामकारबाही र विश्वसनीयता प्रभावित भएको छ।’

आन्तरिक समस्याको समाधानमा मूल नेतृत्व जिम्मेवार रहने उनको जिकीर छ । त्यसैले आयोगमा प्रभावकारी रूपमा काम गर्न कठिन भएपछि राजीनामा दिएको बताइन् । 

राजीनामा स्वीकार भएपछि मिडियालाई सार्वजनिक रूपमा जानकारी गराउने उनले पत्रमा उल्लेख गर्दै मानव अधिकार संरक्षणमा आफ्नो प्रतिबद्धता जारी रहने र अन्य माध्यमबाट पनि काम गर्दै जाने प्रतिबद्धता पनि जनाएकी छन् ।

यसअघि भूलवशः सदस्य मिहिर ठाकुरले राजीनामा दिएको समाचार प्रकाशित भएकोमा क्षमाप्रार्थी छौं । अध्यक्ष मगरले हिजो मात्रै गत आर्थिक वर्षको संगठनको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाइसकेका छन्। 

टिप्पणीहरू