एमाले महाधिवेशनलाई मालपोत हाकिमको ५१ हजार

एमाले महाधिवेशनलाई मालपोत हाकिमको ५१ हजार

मंसिर २७ देखि २९ गतेसम्म नेकपा हुने एमालेको एघारौं महाधिवेशनका लागि जिल्ला कार्यालयहरुले धमाधम चन्दा उठाइरहेका छन् । त्यसै क्रममा सिराहाका एक हाकिमले दिल खोलेरै एमालेलाई सहयोग गरेको पाइएको छ । 

ती हाकिमले आफ्नो एक महिनाको तलबभन्दा बढी रकम एमालेलाई चन्दा दिएका छन् । जिल्ला मालपोत कार्यालय,सिराहाका प्रमुखले ५१ हजार रुपैयाँ सहयोग गरेका छन् । जुन उनको मासिक तलबभन्दा बढी हो । उनको सहयोगले हाल सामाजिक सञ्जाल तताएको छ । 

तलबबाटै दिए कि अन्तैबाट ? भनी धेरैले प्रश्न उठाइरहेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ता गजेन्द्र बुढाथोकीले राष्ट्रिय सतर्कता केन्द्रलाई कटाक्ष गर्दै लेखेका छन्,‘सिरहा मालपोतका हाकिम भनेको उपसचिवस्तरको हुन्छन् । झ्याप्पै ५१००० चन्दा दिएछन् । तलबबाटै त होला नि ! राष्ट्रिय सतर्कता केन्द्रले त के थाहा पाउला र खै !’

कविन्द्र खड्काले चुनाव खर्च अझै दिनै बाँकी रहेको भन्दै ब्यङ्ग्य हानेका छन् । ‘एमालेले हाकिम बनाएर पठाएको थियो । अनि त्यतिले कहाँ पुग्छ ! देखावटी मात्र त्यति । अरु चुनाव खर्च दिनै बाँकी छ रे’,उनको भनाइ छ । तलब नभई कमिशन दिएको हुनसक्ने नरेन्द्र केसीको जिकिर छ । भनेका छन्,‘के को तलब हुने,एक झमटको कमिशन होला नि !’

टिप्पणीहरू