टिम ओली,के पो होला भोलि ?

टिम ओली,के पो होला भोलि ?

११ औं महाधिवेशन नजिकिँदै जाँदा एमाले संस्थापन पक्ष विभिन्न समस्यामा जेलिन पुगेको छ । अध्यक्ष केपी शर्मा ओलीले आगामी महाधिवेशनबाट आफ्नो नेतृत्वमा बन्ने पदाधिकारीको टिम घोषणा गरेर अघि बढ्न लागेको संकेत पाइएको छ ।

‘उहाँकै हितको लागि पदाधिकारी टिम नबनाउनुस् भनेको,मान्नुभएको छैन,’ एक नेताले भने, ‘आजै मात्र उहाँले प्रदीप ज्ञवालीलाई महासचिव बनाउने वचन दिएको सूचना बाहिरिएको छ । शंकर पोखरेललाई यसअघि नै निरन्तरता दिने भनिएकै हो । उता पृथ्वीसुब्बा गुरुङलाई पनि नाइँ,दिन्न भन्न नसकेको अवस्था छ । लिष्ट निकाल्दा त्यो झमेलामा उहाँ स्वयम् पर्ने निश्चित छ ।’

ओलीको कोर टिमले समेत पदाधिकारीको टिम बनाएर अगाडि बढ्दा ड्यामेज धेरै हुने बताउन थालेका छन् । अनेकथरी मान्छेलाई टिममा राख्नेबित्तिक्कै महाधिवेशनको पहिलो दिनदेखि नै गज्याङगुजुङ हुने पक्का छ ।

‘त्यसो गर्दा के नै बित्ला र ?’ भन्ने जनआस्थाको जिज्ञासामा ओली निकट अर्का नेताले भने, ‘धेरै मान्छेलाई वचन दिने अनि पछि नसमेट्ने गर्दा के हुन्छ ? नेताहरु एक ठाउँमा नबस्दाको परिणाम  केसम्म हुनसक्छ भनेर विगतदेखि देखिएकै हो । यस्तो हालतमा कार्यकर्ता एक ठाउँमा बस्लान् ?’

यता पदाधिकारी आकांक्षीहरुले पनि आफूलाई फलानो टिमको भन्न थालेका छन् । विशेषगरी केपी निकटस्थहरुले  त खुल्ला प्रचार नै गर्न थालेको अवस्था छ । विगतमा झलनाथ खनाल अध्यक्ष निर्वाचित हुँदा केपी टिमका केही केन्द्रीय समिति सदस्यले पहिलो बैठकमा स्पष्ट कित्ताकाट गर्दै आफूहरुलाई अर्कै समूहको प्रतिनिधिका रुपमा प्रस्तुत गरेका थिए ।

कतिपयले अध्यक्ष खनाललाई महाधिवेशनमा आफूूहरुले हाकाहाकी ओलीलाई भोट हालेको बताएका थिए । ‘अध्यक्षज्यू,तपाइँको केन्द्रीय समितिको पहिलो बैठकमा भोट नहालेको सदस्यको रुपमा हामी छौँ’ भन्दै ती सदस्यहरुले भद्र भाषामा अध्यक्षसँग दूरी कायम गरेका थिए । 

तर, अहिले ओली खनालको तुलनामा उग्र भएकाले भोलिका दिनमा पार्टी सञ्चालन फलामको च्युरा सावित हुने ओली निकटस्थहरुको बुझाइ छ । उता ओली सरकारमा भौतिक योजनामन्त्री रहेका देवेन्द्र दाहाल भदौ २४ गतेपछि एकाएक अमेरिका पुगेका थिए । परिस्थिति सहज भएपछि बल्ल स्वदेश फर्केका उनी सबैभन्दा क्रान्तिकारी भएर निस्केपछि ओलीका अरु शुभचिन्तकहरु बिच्किएका छन् । 

भदौ २३ गते फिलिपिन्समा रहेका दाहाल उतैबाट नयाँ दिल्ली हुँदै अमेरिका गए काठमाडौंमा रहेकी श्रीमतीलाई नयाँ दिल्ली बोलाएर । यता अवस्था अनुकूल बनेपछि ओली टिममा सहभागी हुन आइपुगेका छन् । भदौ २४ गतेको बिजोग देखेका र सहेकाहरुले दाहाललाई सबैभन्दा खराब पात्रको संज्ञा दिएका छन् । उनीहरु भन्छन्, ‘पार्टीमा भगौडाको राज भयो । अप्ठेरो पर्दा टाप,सप्ठेरो पर्दा साँप ।’

टिप्पणीहरू